हनुमान उडेर वा पौडेर कसरी गएका थिए लंका ? जुन तपाई सुनेपछी अचम्म पर्नुहुनेछ

label सुदूर खबर संवाददाता query_builder September, 13 2018

पौराणिक पात्र, रामायणका एक प्रमुख पात्र अनि महाभारत कालमा पनि उत्तिकै सशक्त उपस्थिति जनाएका हनुमान हिन्दू मान्यताका अष्ट चिरञ्जीवीमध्ये एक हुन् । सीताको खोजीमा लंका गएका हनुमानले लंका जलाएको सन्दर्भ धेरै नेपालीको मानसपटलमा ताजा भएर बसेको पाइन्छ ।

हनुमान लंका गएका विषयमा पनि मानिसहरूमा विभिन्न मत पाइन्छ । कसैको भनाइमा हनुमान पौडेर गएका थिए, कसैका भनाइमा उडेर गएका थिए अनि कसैको भनाइमा उनी एउटा टापुबाट अर्को टापुसम्म उफ्रँदै, कुद्दै गएका थिए । यी सबै कुराले हनुमानको विषयमा अन्योल सिर्जना गरेको पाइन्छ, त्यही कुरालाई मध्यनजर गरेर यहाँ केही तथ्य पस्कने प्रयास गरिएको छ ।

हनुमान, देवषिर् नारद एवं सनतकुमारहरू नै यस्ता देवता थिए जो आफ्नै शक्तिले आकाशमा उड्थे । जब कि अन्य देवी वा देवताका वाहन हुन्थे । हुन त पुराणमा त्यस्ता थुप्रै ऋषिमुनि एवं राजाहरूको वर्णन पाइन्छ जो आफ्नो शक्तिका मद्दतले आकाशमार्गबाट एक ठाउँदेखि अर्को ठाउँसम्म जान्थे । हनुमानको कुरा गर्नुपर्दा उनी सर्वशक्तिमान एवं सर्वज्ञ हुन् । भनिन्छ, उनी पृथ्वीमा एक कल्पसम्म सशरीर रहन्छन् ।

कुन शक्तिले उड्थे त हनुमान ?

-हनुमानलाई योगको अष्टसिद्धि प्राप्त थियो । ती आठ सिद्धि हुन्-अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशीता र वशित्व । यी सिद्धिमध्ये लघिमा त्यस्तो शक्ति हो जसका सहायताले सहजै उड्न सकिन्छ । लघिमा सिद्धि प्राप्त व्यक्तिले शरीरको तौललाई भाररहित बनाउनसक्छ र ऊ वायुवेगले आकाशमा उड्नसक्छ । हनुमान यही सिद्धिका सहायताले उडेर समुद्रपार लंका पुगेका थिए ।

-योगद्वारा पहिलो तीन महिनासम्म लगातार ध्यान गरेर शरीर एवं आकाशको सम्बन्धमा संयम गरेपछि लघु अर्थात् हलुका कपासजस्तो पदार्थको धारणा गरेर आकाशमा उड्नसक्ने शक्ति प्राप्त हुन्छ । यो शक्ति प्राप्त गर्नका लागि यम र नियम पालन गर्नुपर्छ । यसका साथै संयमित भोजन, वार्तालाप, विचार एवं भावमाथि ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ ।

-रामचरित मानसमा एक शब्द लेखिएको छ समुद्र लाँघना अर्थात् समुद्र नाघ्नु । नाघ्नुको. अर्थ पौडिनु, उफ्रँदै दौडनु वा छलाङ मार्नु होइन । नाघ्नुको अर्थ एक ठाउँबाट अर्को ठाउँसम्म पुग्दा तलको वस्तुलाई नछोईकन माथिमाथि जानु हो । तसर्थ यसको अर्थ उड्नु नै हो । हनुमानले समुद्र नाघेको वर्णन वाल्मीकि रामायण एवं रामचरित मानसको सुन्दर काण्डमा पाइन्छ ।

-परामनेविज्ञानले लघिमा शक्तिका विषयमा खोज गरिआएको पाइन्छ । तिब्बत तथा नेपालका केही भिक्षु वा साधु पद्मासनमा बसेर समाधि लगाएकै अवस्थामा आकाशतर्फ केही फिट वा मिटरको उचाइमा उठेको पाइएको छ । आज पनि यस्ता साधु, सन्त र भिक्षुहरू पाउन सकिन्छ । यस विषयका केही डकुमेन्ट्री युट्युबमा हेर्न सकिन्छ ।

समुद्र नाघ्नु

-हनुमानले थुप्रै ठाउँमा आफ्नो उडान शक्तिको परिचय दिएका छन् जसमध्ये ५ वटा प्रमुख घटना छन् । पहिलोपटक बाल्यकालमा उनी सूर्यलाई फल सम्झेर खाने उद्देश्यले आकाशमा उडेका थिए । दोस्रो पटक समुद्र नाघेर लंका पुगे र फर्के । तेस्रो उडान उनले लंका जलाउने क्रममा गरेका थिए । चौथोपटक उनी इन्द्रजीतको वाण लागेर मृत्युमा पुगेका लक्ष्मणलाई बचाउने उद्देश्यले उडेर द्रोण पर्वतसम्म पुगेर उक्त पर्वतलाई नै उचालेर लिइआएका थिए । पाँचौँपटक राम र लक्ष्मणलाई अहिरावणको कब्जाबाट फुत्काउन उडेर पाताल लोकसम्म पुगेका थिए ।

-भनिन्छ, पहिले बालिपुत्र युवराज अंगदलाई समुद्र नाघेर लंका जान भनिएको थियो तर उनले आफू जान त सक्षम रहेको तर फर्केर आउन भने सक्ने हो कि नसक्ने हो भनेर संशयमा रहेको बताए । त्यतिखेर जाम्वानले हनुमानलाई उनको शक्तिको याद दिलाउँदै उनले मात्र त्यो काम गर्न सक्ने कुरा बताए । अनि हनुमानले आफ्नो शरीर विशाल बनाए अनि महेन्द्र पर्वतमाथि चढेर वायुवेगले समुद्रमाथिबाट लंकातर्फ हुत्तिए ।

निष्प्रमाणशरीरः सँल्लिलऽडयिषुरर्णवम् ।

बहुभ्यां पीडयामास चरणाभ्यां च पर्वतम्।। (वाल्मीकि रामायण सुन्दरकाण्ड)

अर्थात् समुद्र नाघ्ने इच्छाले उनले आफ्नो शरीर अति नै ठूलो हुने गरी बढाए तथा आफ्ना दुवै हात तथा गोडाले उक्त पर्वतलाई दबाए ।

स चचालाचलश्चाशु मुहूर्तं कपिपीडितः ।

तरुणां पुष्पिताग्राणां सर्वं पुष्पमशातयत् ।। – वाल्मीकि रामायण सुन्दरकाण्ड

वानरमा श्रेष्ठ हनुमानबाट दबाउने बित्तिकै उक्त पर्वत काम्न थाल्यो र दुई घडीसम्म कामिरह्यो । पर्वतमा जति पनि रुख थिए, तिनका हाँगामा जति पनि फूल फुलेका थिए, पर्वत हल्लँदा ती सबै झरे ।

-समुद्र पार गर्ने क्रममा देवताहरूबाट हनुमानको बल जाँच्न पठाइएकी नागमाता सुरसासँग भेट भयो । सुरसाले आफू हनुमानलाई खान आएको बताइन् । अनि हनुमानले आफ्नो शरीर सार्‍है ठूलो बनाए । सुरसाले झन् ठूलो मुख बनाइन् । यो क्र चल्दै गयो । सुरसाको मुख अति नै ठूलो भएपछि हनुमान तुरुन्तै सानो स्वरूपमा आए र फुत्त सुरसाको मुखभित्र पसेर बाहिर आए । यो देखेर सुरसाले हनुमानको शक्ति र बुद्धि थाहा पाइन्, अनि हनुमानलाई सफलताको कामना गर्दै आशीर्वाद दिएर गइन् ।

-समुद्रमा एक राक्षसी बस्थी । ऊ आकाशमा उडेका चरचुरुङ्गीलाई तिनको छायामा समातेर तान्थी अनि आफ्नो आहार बनाउँथी । उसले हनुमानको छाया समातेर तान्न थाली । हनुमानले यो कुरा थाहा पाए र उसलाई मारेर आफ्नो बाटो लागे ।

हनुमानको शक्ति

हनुमानले सूर्यसँग शिक्षा लिएका थिए । सूर्यले उनलाई नौ प्रकारका विद्याको ज्ञान दिएका थिए । त्यसैगरी यमराजले हनुमानलाई अवध्य एवं निरोगी हुने वर दिए । कुबेरले युद्धमा कहिल्यै विषाद नहुने वरदान दिनुका साथै आफ्नो शस्त्रअस्त्रबाट निर्भय बनाइदिए । भगवान् शंकरले पनि आफ्ना कुनै पनि शस्त्रबाट अवध्य हुने वरदान दिए । विश्वकर्माले आफूबाट बनाएका कुनै पन शिस्त्रअस्त्रले अवध्य हुने तथा चीरञ्जीवी हुने वरदान दिए । देवराज इन्द्रले आफ्नो वज्रबा समेत अवध्य हुने वर दिए । जलदेव वरुणले दस लाख वर्षको आयु हुँदा पनि वरुणपाश तथा पानीबाट अवध्य हुने वर दिए । परमपिता ब्रह्माले दीर्घायु, महात्मा हुनुका साथे सबै प्रकारका ब्रह्मदण्डबाट अवध्य रहने वरदान दिए ।

पुराणहरूमा वर्णन भएअनुसार हनुमानलाई थुप्रै देवीदेवताबाट अनेकौं प्रकारका वरदान तथा शस्त्रअस्त्र प्राप्त थियो । उनमा जन्मजात प्रतिभा एवं बहादुरी पनि थियो । अत्यन्त बलशाली भएका कारण उनी सानोमा असाध्यै चकचक गर्थे । तपस्यारत ऋषिमुनिहरू उनको चकचकबाट आजित भए । यसै क्रममा एक दिन ऋषिहरूले हनुमानलाई अनौठो श्राप दिए । अब उप्रान्त हनुमानले आफ्नो बल बिर्सने र कसैले सम्झाउँदा मात्र आफ्नो बल कति छ भनेर थाहा हुने श्राप दिए । त्यसै समयदेखि हनुमान शान्त भए ।

लेभिटेसन पावर

हवाइजहाज चलाउनका लागि गुरुत्वाकर्षण विरोधी शक्ति आवश्यक पर्छ । लघिमा सिद्धिबाट प्राप्त हुने शक्ति गुरुत्वाकर्षण विरोधी प्रणालीअनुरूपकै हुन्छ । लघिमालाई संस्कृतमा सिद्धि भनिन्छ भने अंग्रजीमा यसलाई लेभिटेसन भनिन्छ । लेभिटेसन पावर कुनै तन्त्रविद्या होइन, यो ध्यानको अभ्यासबाट हासिल शक्ति हो । वास्तवमा भन्दा यो ब्रह्माण्डीय शक्ति हो । जसलाई प्राप्त गर्नका लागि यम, नियमको पालना गर्दै तप तथा ध्यान गर्नुपर्छ । हनुमान यस कुरामा पारंगत थिए । यसर्थ हनुमान पौडेर नभई उडेरै लंका पुगेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्