प्रधानमन्त्री ओलीले पत्याएनन् मुख्यमन्त्रीलाई !

label सुदूरखबर संवाददाता query_builder September, 13 2018

काठमाडौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् ।

प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्री र सांसदहरू धेरैजसो काठमाडौं धाउने गरेका छन् । प्रदेशसभाहरु विधेयक तयार पार्न, प्रस्तुत गर्न, अन्य कानुनी र संवैधानिक काम गर्नसमेत अलमलमा पर्ने गरेका छन् ।

प्रदेश ५ को प्रदेशसभा बैठक सञ्चालनका लागि सहजीकरण गर्न पुगेका प्रदेश सभा सम्पर्क तथा समन्वय केन्द्रका उपसचिव रामकुमार पौडेलले आवश्यक पर्दा प्रदेशलाई संघले समन्वय गर्दै आएको बताए ।

‘सहयोग र सल्लाह नमागी दिने कुरा भएन, कहिलेकाहीं अप्ठेरो प¥यो भने प्रदेशसभा बैठक चलाउन गएकालाई चिनजानका आधारमा फोन आउने गरेको छ’ –उनले भने ।

आइतबार हुने भनिएका अन्तरप्रदेश परिषद्को बैठक अन्तिम अवस्थामा आएर रद्ध भएको थियो । त्यसअघि पोखरामा भएको मुख्यमन्त्रीको भेलाले एजेन्डासमेत तय गरेको थियो तर प्रधानमन्त्री ओलीले व्यस्तता देखाउँदै बैठक बसाएनन् ।

यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ता विनोदबहादुर कुँवरले छिट्टै अन्तरप्रदेश परिषद् बैठकको अर्को मिति तोकिने बताए । ‘अस्ति नै बैठक बस्ने भनिएको थियो, हुन सकेन, अब सरकारले थप तयारी गरेर बोलाउनेछ’, कुँवरले भने– ‘धेरै विषयमा छलफल गर्नुपर्ने भएकाले सरकारले पनि प्राथमिकताका आधारमा एजेन्डा तय गर्नेछ ।’

  • नेपाल समाचारपत्र दैनिकबाट
तपाईंको प्रतिक्रिया दिनुस्