गोरुले हान्दा घाइते डोटीकी बालिका लालीको उपचारमा सहयोग जुट्दै

label सुदूरखबर संवाददाता query_builder September, 14 2018

झलक पाली/सुदूरखबर।
डोटी, भदौ २९ । गोरुले हानेर घाइते भई उपचाररत डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी १३ वर्षीया बालिका लाली कुञ्जेडाको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ ।

उनको उपचारका लागि शुक्रबार मात्रै ३९ हजार रकम हस्तान्तरण गरिएको छ ।  पाल्पा घर भई हाल मलेसियामा रहेका मनिस के.सी.को पहलमा विभिन्न सहयोगदाताहरुले दिएको रकम काठमाण्डौका खुशी राईमार्फत डोटीका पत्रकार रामहरी ओझालाई आएको र ओझाले लालीकी आमा पारुदेवी कुञ्जेडालाई हस्तान्तरण गरेका हुन् ।

रकम सहयोग गर्नेहरुमा नेपाल घर भई हाल बेलायतमा बस्ने ईशा गुरुङ्ग, इजरायल बस्ने पवित्रा गौतम, मलेसिया बस्ने रानी पल्पासा तामाङ्, मलेसीया बस्ने राजन श्रेष्ठ (नेवार) लगाएत रहेको सहयोग संकलन अभियानकर्ता मनिस के.सी.ले जानकारी दिए । साथै फेरी पनि रकम संकलन भइरहेको उनले बताए ।

हाल मलेसियामा रहेका लालीका काका नाता पर्ने केशव कुञ्जेडाबाट आफुले लालीको अवस्थाबारे थाहा पाएपछि आर्थिक सहयोग संकलन अभियान चलाएको मनिसले बताए । त्यस्तै कुवेतमा बस्ने पासाङ कुमार लामाले आफैले लालीकी आमालाई प्रत्यक्ष ७ हजार ९ सय रकम पठाएको खुशी राईले जानकारी दिइन् । लालीलाई आफ्नै गोरुले यहि भाद्र २१ गते हान्दा उनको आन्ध्रा बाहिरै निस्किएको थियो । उनको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

गोरुले हान्दा लालीको पेटमा तीन ठाउँबाट चिरिएको र उनको ल्याप्रोक्टोमी अप्रेशन गरिएको शैलेश्वरी अस्पतालका सञ्चालक आई.जङ्ग कुँवरले बताए । एक वर्ष पहिले मधुमेहका कारण बुबा गुमाएकी लालीका एक दाजु र ८ दिदिबहिनी रहेकाले पारिवारिक रुपमा पनि आर्थिक अवस्था कमजोर रहेको थियो । उनको पारिवारिक कमजोर अवस्थाका कारण मेडिशिन शुल्क बाहेक अप्रेशन, बेड भर्ना लगाएतमा निःशुल्क उपचार गरिएको अस्पतालका सञ्चालक कुँवरले जानकारी दिए ।

बाहिर निजि अस्पतालमा उपचार गर्दा उपचार खर्च मात्रै झण्डै डेढ लाख लाग्ने कुँवरले बताए । उनका शैलेश्वरी अस्पतालका एमडिजिपी डाक्टर निशान्त ढकालले उपचार गरेका हुन् । निकै अप्ठेरो अवस्थामा अस्पताल पुगेकी लालीको अवस्थामा अहिले निकै सुधार आएको र अबको दुइ दिनमा डिस्चार्ज गरिने अस्पताल श्रोतले जनाएको छ ।

त्यस्तै डोटीका युवा नेता, दिपायलका होटल व्यवसायी तथा डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले सामाजिक सञ्जालमार्फत गरेको पहलबाट पनि २१ हजार ५ सय ५५ रुपैंया सहयोग जुटेको छ ।

उक्त रकम विहिबार लालीकी आमालाई डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र साउँदले हस्तान्तरण गरेका थिए । लाली स्थानीय मष्टेश्वरी आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने छात्रा हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्