दार्चुलाका बादी समुदायका बालबालिका आधारभूत शिक्षाबाट समेत बञ्चित

label सुदूरखबर संवाददाता query_builder September, 14 2018

लोकेन्द्रप्रसाद जोशी/सुदूरखबर।
दार्चुला, भदौ २९ । शिक्षा पाउनु सबै बालबालिकाको मौलिकहक एवं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभूत शिक्षा राज्यको नारा छ । नेपालको संविधान २०७२ ले समेत बालबालिकाको हक अन्तरगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ ।

‘हामी सबैको इच्छया अनिवार्य आधारभूत निशुल्क शिक्षा’ मूल नारा एबं एक बच्चाको भर्ना मेरो समाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व आदर्श वाक्यकासाथ बिद्यार्थी भर्ना बिशेष अभियान राष्ट्रब्यापी रुपमा सञ्चालन भएको छ । तर, दार्चुलाको बादी समुदायका अधिकासं बालबालिका राज्यले अनिवार्य र निःशुल्क गरेको आधारभूत शिक्षाको पहुचबाट समेत बञ्चित रहेका छन् ।

शुक्रबार देशभरी भब्यताकासाथ वाल दिवस मनाइरहँदा यो समुदायका बालबालिकाहरुको पिडा निकै पृथक थियो । बिडम्बना बालबालिकाहरु अभिभावकसंगै गिट्टि कुट्न, बालुवा बोक्न जान्छन, तर विद्यालय जादैनन ।

शैल्यसिखर नगरपालिका–९ गोकुलेश्वर बजारमा बसोबास गर्ने बादी समुदायका दुई दर्जन बढी बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित रहेका हुन् । बादी बस्ती जिल्लाकै दोस्रो ठुलो बजार, गोकुलेश्वर माबि, क्याम्पस लगायत आधा दर्जन विद्यालय रहेको क्षेत्रमा पर्छ, तर बालबालिकाहरु विद्यालय हैन, चमेलिया नदी किनार र सडक पेटिहरुमा भौतारीएका देखीन्छन् । शिक्षा क्षेत्रका समाजिक अभियान्ताहरुलाइ यो बस्तीको तस्बिरले सधै गिज्याइरहेको हुन्छ ।

बिद्यार्थी भर्ना अभियानमा सतप्रतिषत बिद्यार्थी नियमित आधारभूतशिक्षा आर्जन गरीरहेको भनेर तथ्याङक तयार पार्ने काम भइरहेको छ । तर बिडम्बना यो बस्तीका अधिकासं बालबालिकाहरुले विद्यालय र शिक्षाको अनुहार देख्न पाएका छैनन, विद्यालय भर्ना भएका विद्यार्थीहरुसमेत नियमित उपस्थित नहुने र बिचैमा कक्षा छोड्ने समस्या रहेको छ ।

गोकुलेश्वर माद्यमिक विद्यालयको चालु शैक्षिक सत्रको तथ्याङकअनुसार बादी समुदायका २४ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्रद्यानाद्यापक धनन्जय जोशीकाअनुसार सिशु कक्षामा २ जना छात्र र २ जना छात्रागरी ४ जना, कक्षा १ मा ५ जना छात्र र ७ जना छात्रा गरी १२ जना, कक्षा २ मा १ जना छात्र र १ जना छात्रागरी २ जना, कक्षा ३ मा १ जना छात्रा, कक्षा ४ मा ३ जना छात्रा, कक्षा ५ मा ३ जना छात्रा र कक्षा ६ मा १ जना छात्रा गरी २६ जना बालबालिका भर्ना भएका छन् ।

माथिको तथ्याङक हेर्दा विद्यालय भर्ना नहुने र बिचैमा कक्षा छोड्ने बालबालिकाहरु ठुलो संख्यामा भएको स्पष्ट हुन्छ । साथै भर्ना भएका बिद्यार्थीहरु समेत कहिलेकाही मात्रै विद्यालय पुग्ने गरेका छन् । सरकारले बादी समुदायका बालबालिकाहरुलाइ विद्यालय भर्ना भएबाफत भत्ता र दैनिक उपस्थितिको आधारमा समेत भत्ताको ब्यवस्था गरेको छ, तर बालबालिकाहरु विद्यालय जादैनन् । बिचैमा पढाइ छोड्ने गरेकै कारण कक्षा ६ भन्दा माथि विद्यालयमा एक जनापनि विद्यार्थी छैनन् ।

 

यस बस्ती वरिपरिका बालबालिकाहरु सधै हातमा कापि कलम समाएर विद्यालय जादैगर्दा बादी समुदायका बालबालिकाहरु माछा मार्न, गिट्टि कुट्न, पौडिन चौलानी नदी किनारतर्फ लाग्छन् । साथै उमेरमा बिबाह गरेर धेरै बच्चा जन्माउने यो समुदायका मानिसको भरपर्दो आयस्रोतको माध्यम केहिपनि छैन । भारी बोक्ने, गिट्टि बालुवा निकाल्ने, छलिया नाचँ गर्ने, माछा मार्ने लगायतका गतिबिधि गरेर दिनचर्या बिताउँने गरेका छन् । मजदुरी गरेर पैसाबाट मदिरा सेवन गरेर अधिकासं रात त पुरै परिवार भोकभोगै सुत्नुपर्ने दुखेसो समेत यो समुदायका व्यक्तिहरु सुनाउँछन् । अधिकासंको न आफ्नो खेतबारी छ, नत घर जमिननै ।

बस्तीभरी फोहोरमैला र दुर्गन्ध मात्रै भेट्टिन्छ । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसङगतिले समेत जरा गाडेर बसेको छ । बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानि गरेपनि बालुवामा पानी हालेजस्तै हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्