पुल निमार्ण अलपत्र, ट्युवको जोखिमपूर्ण यात्रा

label सुदूरखबर संवाददाता query_builder September, 22 2018

लोकेन्द्रप्रसाद जोशी/सुदूरखबर।
दार्चुला, असोज ६ । दार्चुलाको लेकम गाउँपालिका–३ लालीमा निर्माणाधिन नेपाल–भारत जोड्ने पुलमा काम रोकिएको झन्डै ३ महिना बितेको छ ।

विभिन्न कारण देखाउदै विगतदेखि नै निर्माणमा ढिलाई भइरहेको पुलमा नदीमा पानीको सतह बढेको कारण काम गर्न नसकिएको बताउँदै असार महिनादेखि नै काम हुन सकेको छैन । समयमै निर्माण सम्पन्न गर्न नसकेर दुई पटक म्याद थप भएको पुलको निर्माण कार्य पछिल्लो पटक मंसिर २० गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप भएको छ ।

लालीको पुल निर्माणको लागि ०७३ असोज ४ गते कुल १ करोड ३२ लाख रुपैयाँ लागतमा मनोमालिका कन्सटक्र्सन सँग सम्झौता भएको थियो । सम्झौता भएको म्याद सकिएर पछिल्लोपटक गत असार २० गते मंसीर सम्मकोलागी फेरि म्याद थप भएको छ ।

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला तुइन विस्थापन कार्यक्रम अन्तर्गत लालीको कयलपालमा नेपाल भारत जोड्ने झोलुंगे पूल निर्माण गर्ने भन्दै टेण्डर भएपनि कछुवा गतिमा काम हुदा हालसम्म निमार्ण सम्पन्न हुन सकेको छैन ।

शुरुको एक बर्ष भारतिय स्थानिय प्रशासनको अनुमति नपाएको भन्दै रोकिएको काम दोस्रो बर्ष भारतबाट निमार्ण सामाग्री ल्याउँन नसकेर काम गर्न नसकिएको सहायक ठेकेदार दिपक साउँदले जानकारी दिए । अहिले निमार्ण सामाग्री ढुवानि गरेपनि मिस्त्रीहरुले नदीमा पानीको सतह बढेर काम गर्न नसकिने बताएपछि असोज १५ गतेसम्मकोलागी काम बन्द गरीएको साउँदले बताए ।

बाहानै बाहानामा पुल निमार्णमा ढिलाई हुँदा स्थानियले भने बर्षौदेखी नदीको भेलमाथी भगवान भरोसामा ज्यानमारा ट्युबको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

अहिले पनि लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली, वडा नम्बर ४ खरकडा, वडा नम्बर १ सर्मौली वडा नम्बर २ कुणि, वडा नम्बर ५ मैखोली, अम्कुर क्षेत्रका नागरिकले ट्युबमार्फत महाकाली नदी वारपार गर्ने गरेका हुन् । वारिपारि रोटिबेटीको सम्बन्ध भएका स्थानिय दैनिक उपभोग्य सामाग्री, चाँडपर्वको बेला लत्ता कपडा देखी सबैजसो सामान ल्याउँन र नेपाल भारत आवतजावत गर्न ट्युबमै प्रयोग गर्नेगरेका छन् ।

उक्तपुल निर्माणपछि लेकम गाउँपालिकाको अधिकांश भू–भाग र मालीकार्जुन गाउपालीकाको केही भेगका स्थानीयलाई आवत जावत मा सहजता हुनेछ । लाली पुललाइ लेकम गाउँपालिकाको आर्थीक एबवं व्यापारीक नाकाको रुपमा समेत लिइएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए ।

आन्तरीक आयस्रोतको बलियो आधार नभएको लेकम गाउँपालिकामा आर्थिक, व्यापारीक चहलपहल बढाउन नेपाल–भारत सिमानाकामा झोलुङगे पुलमात्रै नभइ पक्की पुल आवश्यक रहेको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया दिनुस्