प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा ठुलीजात समापन

label सुदूरखबर संवाददाता query_builder September, 24 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज ८ । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला अन्तर्गत आज ठुलीजात सम्पन्न भएको छ । निंगलाशैनी भगवतीको भण्डार घरबाट शुक्रबार मन्दिरमा भण्डार भित्र्याएसंगै जात्रा शुरु भएको थियो ।

जात्रामा चार दिन सम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ । भाद्र शुक्ल पूर्णिमाको बिहान मंगलवारसम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आएका मेला व्यवस्थापन समितिका अध्यक्ष बहादुरसिंह बोहराले बताए ।  अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेकोे छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने गरिएको छ । मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनहरुको घुइँचो लागेको हो । निंगलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा बिशेष पूजाआजा समेत हुने गरेको छ । यो मेलालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ । यो जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रुपमा मनाउने गरेको छ । प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ ।

भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसीर शुक्ल पूर्णिमा, चैतको अष्टमीको दिन गरी चार पटक बिशेष जात्रा हुने गरेको छ ।  मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानुन अनुसार कारवाही हुने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । मेलामा देउडा प्रतियोगिता पनि सञ्चालन हुने बताईएको छ । सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागी पनि यो मेलालाई विषेस रुपमा हेर्ने गरिन्छ । जिल्ला भित्र तथा जिल्ला बाहिरका देउडिया समेत यहाँ आउने गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्