बैतडीका सरकारी कर्मचारीले तलब पाएनन्

label सुदूरखबर संवाददाता query_builder October, 03 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज १७ । बैतडीका सरकारी कार्यालयका कर्मचारीले ३ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दशैं आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाउदा समस्या भएको छ ।

प्रदेश मातहत आएका कार्यालयहरु तलब पाउन नसकेको कर्मचारीहरुले बताएका छन् । गएको साउनदेखि अहिले सम्म तलब नपाएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । साविकको जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले तलब पाउन सकेको छैनन् उनले भने–‘तलबकै बिषयमा बुझ्न आफू धनगढी पुगेको र अहिले तलब निकासा हुने छाँटकाँट छैन् ।’

दशैंको मुखमा तलब नपाउने चिन्तामा रहेका कृषि ज्ञान केन्द्र बैतडीका जेटीए महेश अवस्थीले बताए । यस्तै प्रदेश सरकार मातहत स्थापना भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुले पनि गएको साउनदेखि तलब नपाएको सो कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले बताए ।

डिभिजन वन कार्यालयका कर्मचारीहरुले पनि साउनदेखि तलब नपाएको डिभिजन वन अधिकृत प्रभात सापकोटाको भनाई छ । चाडपर्वको समय नजिक आएपनि तलब पाउने छाँटकाँट नदेखिएपछि कर्मचारीहरु चिन्तित बनेका छन् ।

यस्तै बृहत्तर जलधार केन्द्र महाकालीका कर्मचारीहरुले पनि तलब नपाएको साविकको भु संरक्षण कार्यालय तत्कालिक प्रमुख अष्टभुजानन्द उपाध्यायले जानकारी दिए । प्रदेश सरकार रहेका कार्यालयहरुको तलब नपाउँदा नेपालीहरुको मुख्य चाड दशैतिहार नै खल्लो हुने भन्ने चिन्तामा कर्मचारी रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्