नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य

label सुदूरखबर संवाददाता query_builder October, 09 2018

काठमाडौं, असोज २३ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले भुटानलाई १ सय ५१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ  गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। नेपालका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी नटआउट ७५ रन जोडे। उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारी शून्य रनमा आउट हुँदा अनिलकुमार साहले २७ रनको योगदान दिए। उनले २१ बलमा २ चौका र १ छक्का हिर्काए। आरिफ शेखले १५ बलमा १३ रन  र दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन जोडे। करण केसीले ५ बलमा नटआउट १० रन जोडे।

यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो।  असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्। छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ।

तपाईंको प्रतिक्रिया दिनुस्