भुटान ३३ रनमा अलआउट, नेपालको शानदार जित

label सुदूरखबर संवाददाता query_builder October, 09 2018

काठमाडौं, असोज २३ । नेपालले मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा लगातार चौथो जित निकालेको छ । मंगलबार भएको खेलमा भुटानलाई ११७ रनले हराएर नेपालले लगातार जित हात पारेको हो ।

नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो । भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले अर्वाधिक ११ रन जोडे । त्यस्तै संजिवन गुरुङले ६ रन जोड्दा रमेश गुरुङ ४ रनमा अविजित रहे । भुटानका चार खेलाडी सुन्य रनमा आउट भए ।

नेपालका ललित नारायण राजवंशीले ४ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ६ रन खर्चदै ३ विकेट नै हात पारे । त्यस्तै बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले एक/एक विकेट लिए ।

यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे । त्यस्तै नेपालका अनिलकुमार साहले २७, दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ शेखले १३ रन जोडे । ओपनर विनोद भण्डारी सुन्य रनमा आउट भए ।

भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए । जितसंगै शीर्ष स्थानको नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । र, नेपालले एसिया छनोटको दोस्रो चरण पक्का गरेको छ । अब नेपालले बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

तपाईंको प्रतिक्रिया दिनुस्