दशैं-तिहारका लागि पैसा साट्नेको राष्ट्रबैङ्कमा लर्को: दुई दिनमै साटे ३४ सय जनाले नयाँ नोट

label सुदूर खबर संवाददाता query_builder October, 09 2018

नेपाल राष्ट्र बैंकमा नोट साट्ने भीड बढ्न थालेको छ । सर्वसाधारणको लागि असोज २१ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले दुई दिनमा करिब ३४ सय जनाको नयाँ नोट साटिदिएको जनाएको छ ।
नोट साट्नका लागि सूचना निकाल्दा राष्ट्र बैंकले नोट साट्न सर्वसाधारण राष्ट्र बैंक नै धाउन नपर्ने बताए पनि दैनिक १६÷१७ सय सर्वसाधारण र अन्य केही संस्थाको पनि नोट साटिरहेको बताएको छ ।

दशैका लागि राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । दशैंका लागि विभिन्न दरका करिब ६३ अर्ब मूल्य बराबरका नयाँ र सुकिलो नोट साटिने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

‘दशैंमा १३ अर्ब जतिको एक सयभन्दा कम मूल्यका र ५० अर्ब मूल्य बराबरका पाँच सय र हजार दरका नोट साटिने अनुमान गरेका छौं ।’ निरौलाले भने

राष्ट्र बैंकले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ भने सर्वसाधारणको २१ गतेदेखि फूलपातीको अघिल्लो दिनसम्म नोट साट्ने बन्दोबस्त मिलाएको छ ।

सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक दरका एक प्याकेटको थानमात्र साट्न सकिने छ । एक थान वा प्याकेट नोटमा एक सय वटा नोट हुने गर्दछ ।

थापाथलीस्थित राष्ट्र बैंकको बैंकिङ कार्यालयलगायत उपत्यका बाहिरका राष्ट्र बैंककासातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने सुविधा मिलाएको निरौलाले जानकारी दिए । यसका साथै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ वटा शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले अब सहकारी तथा अन्य संघसंस्था तथा राष्ट्र बैंककै कर्मचारीको पनि नयाँ नोट नसाट्ने बताएको छ । सर्वसाधारणको भीडले गर्दा अन्यको नयाँ नोट सट्न सक्ने अवस्था नभएको निरौलाले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्