नेपालले चीनलाई १० विकेटले हरायो

label सुदूरखबर संवाददाता query_builder October, 10 2018

काठमाडौं, असोज २४ । सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ८ बलमा नटआउट २४ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरी ३ बल खेलेर ४ रनमा नटआउट रहे।

त्यसअघि बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। चीनका लागि ओपनर जियाङ हाङले सबैभन्दा बढी ११ रन जोडे। उनले २७ बलमा १ चौका प्रहार गरे। अन्य १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले ३-३ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राखेर ४ रन खर्चिए भने समान ओभर बलिङ गरेका बसन्तले पनि १ मेडन फ्याँक्दा ५ रन दिए। राजवंशीले ३ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिए।

मंगलबार भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुगेको थियो। नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो। नेपालले अब शुक्रबार सिंगापुरसँग खेल्नेछ।

तपाईंको प्रतिक्रिया दिनुस्