जिल्ला अस्पताल बैतडीमा जटिलतायुक्त प्रसुती सेवा सुचारु

label सुदूरखबर संवाददाता query_builder October, 11 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज २५ । जिल्ला अस्पताल बैतडीमा गएको ६ महिनादेखि अवरुद्ध भएको शल्यक्रियाद्वारा सुत्केरी गराउने सेवा सञ्चालन भएको छ ।
एनेस्थेसिया ऐसीटेन्टको अभावमा बन्द भएको सेवा एनेस्थेसिया एसीटेन्ट आएपछि शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिईन् । सेवा शुरु भएसंगै शल्यक्रियाद्वारा सुत्केरी गराउनुपर्ने महिलाहरुको लागि सजिलो भएको छ । शल्यक्रियाद्वारा सुत्केरी गराउने सेवा नहुँदा जटील केसहरुलाई डडेल्धुरा, धनगढी पठाउनुपर्ने बाध्यता हटेको छ ।

जिल्ला अस्पतालमै जटीलतायुक्त प्रसुती सेवा पुनः शुरु भएसंगै सेवाग्राहरुलाई सजिलो भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.जगदीशचन्द्र बिष्टले बताए । ‘करीब ६ महिनादेखि एनेस्थेसिया एसीस्टेन्टको अभावमा सेवा सञ्चालन गर्न पाएका थिएनौ ।’ उनले भने–‘ एनेस्थिेसिया एसीस्टेन्टको दरबन्दी पूर्ती भएसंगै सो सेवा सुचारु भएको छ ।’ अब जटील केसहरु पनि जिल्ला अस्पतालमै अप्रेशन गरेर बच्चा जन्माउने सकिने डाक्टर विष्टको भनाइ छ ।

जटील प्रसुती सेवा शुरु भएपनि रगतको अभाव भने कायमै रहेको छ । जिल्लामा ब्लड बैंक नहुँदा शल्यक्रिया गर्नुभन्दा पहिला रगतको खोजी गर्नुपर्ने बाध्यता रहेको डा. बिष्टले बताए । रगतको सुनिश्चितता भएपछि मात्रै शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको छ । अहिले सम्म रगतका लागि नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीकै भर पर्नुपर्ने अवस्था रहेको छ । जिल्ला अस्पताल बैतडीमा ६ बर्षदेखि जटिलतायुक्त प्रसुती सेवा सञ्चालनमा रहेकोे छ ।

तपाईंको प्रतिक्रिया दिनुस्