बैतडीका शक्तिपीठमा सामूहिक जमरा

label सुदूरखबर संवाददाता query_builder October, 11 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज २५ । देशका अन्य ठाउँमा घरघरमा जमरा राख्ने चलन भएपनि बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा भने शक्तिपीठहरुमा सामुहिक रुपमा जमरा राख्ने चलन रही आएको छ ।

घटस्थापनाको बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा माटो ल्याई मन्दिरमा राखी जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए ।

उनले भने,–‘घरमा भन्दा पनि मन्दिरमा सफा र शुद्घ हुने भन्ने जनविश्वास रहेकोले मन्दिरमा जमरा राख्ने गरेको छ ।’ माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिएको उनले बताए ।

बैतडीका प्रसिद्ध शक्तिपीठहरुमा पनि बुधवार विधि पूर्वक जमरा राखिएको छ । जिल्लाको देहीमाण्डौंमा रहेको निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, तल्लादेही तथा मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा विधि पूर्वक जमरा राखिएको हो ।

यसैगरी पाटनको उदयदेव, महारुद्र , विभिन्न ठाउँका भूमिराज मन्दिरहरु लगायतका मन्दिरहरुमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ । बुधवारदेखि जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ । जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

यसैबिच देशका अन्य ठाउँमा दशैंको बेला खानपीन गर्ने चलन रही आएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चोखोभोकेो रहेर नवरात्र उपासना गर्ने चलन रही आएको आचार्य घनश्याम लेखकले बताए ।

उनले भने–‘दशैंमा शक्तिको पूजा गरिने भएकाले शक्ति प्राप्तिका लागि सात्विक हिसाबले पूजा गर्ने चलन रही आएको छ ।’ सुदूरपश्चिमका अधिकांश जिल्लामा मन्दिरमा जमरा राख्ने गरिएको भएपनि केही जिल्लामा भने घरमा पनि राख्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा दशैंको समयमा विभिन्न मठमन्दिरहरुमा सामूहिक पूजाआजा गर्ने चलन रही आएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्