अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा

label सुदूरखबर संवाददाता query_builder October, 11 2018

वासिंटन, असोज २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै प्रतिबन्ध लगाइने बताएका छन् । अघिल्लो साता रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्याउने सम्झौता गरेको भारतले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने भएको हो ।

अमेरिकाले यसअघि नै भारतलाई रुससँग त्यस्तो सम्झौता नगर्न चेतावनी दिएको थियो । अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सैन्य सम्झौता गरेका थिए ।

ट्रम्पले भारतमाथि ‘काटसा’ कानून उल्लंघन गरेको आरोप लगाउँदै त्यसको परिणाम भारतले चाँडै नै थाहा पाउने बताए । उक्त कानुन अन्तर्गत रुससँग हतियार खरिदमा भारतलाई छुट दिने अधिकार राष्ट्रपति ट्रम्पसँग मात्र छ । ट्रम्पले त्यस्तो छुट भारतलाई नदिइने उल्लेख गर्दै भने, ‘भारतले चाँडै नै थाहा पाउने छ, तपाईहरुले चाँडै नै देख्नुहुने छ ।’

उनले अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग तेल खरिदका लागि भारतले देखाएको अग्रसरताका बारेमा पनि उचित समयमा उचित निर्णय लिइने बताए । ओभलमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘हेर्दैजाउँ ।’

अमेरिकाले यस्ता कानुन उल्लंघन गर्ने मुलुकमाथि राजनीतिक, आर्थिक प्रतिबन्धहरु लगाउने गरेको छ । भारतमाथि अमेरिकाले कस्तो प्रतिबन्ध लगाउने हो भन्ने प्रष्ट भइसकेको छैन ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्