सुदूरपश्चिमका पहाडी जिल्लामा कोदो र मादुरो पाउनै मुस्किल !

label सुदूरखबर संवाददाता query_builder October, 13 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज २७ । बैतडी जस्ता मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरो जस्ता पुराना बालीहरु लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बालीहरु लोप हुन थालेका हुन् । कोदो,मादुरो जस्ता बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि बालीहरुको महत्व नबुझ्दा लोप हुन थालेका हुन् ।

कुनै समय सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरा लगायतका उच्च पहाडी तथा हिमाली भेगमा प्रसस्त मात्रामा कोदो र मादुराको खेती गरीन्थ्यो । यस्तै कुनै समय बैतडीका किसानहरुको खेतबारीमा पनि प्रसस्त उत्पादन हुने कोदो र मादुरो खोति अहिले लोप भइसकेको छ ।

अन्नहरुमध्ये स्वास्थ्यका लागी निकै फाइदाजनक मानिने कादो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया ३ का प्रेमसागर भट्टको भनाइ छ । आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकाहरुमा कुपोषण समेत देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए ।

कोदो, मादुरो, भटमास, लगायतका बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वको बारेमा जानकारी नभएको उनले बताए । पुराना बालीहरुमा पाइने पोषक तत्वका बिषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेका किसान मोहनबहादुर बिष्टले बताए । पुराना बालीहरुको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

धानबालीसंगै फल्ने कोदो मादुरो आजभोली देख्न समेत पाइन छोडेको हो । कोदो, मादुरो, भटमासका परिकारहरु गाउँघरमा पाइन छोडेका छन् । बालबालिका, गर्भवती,सुत्केरी महिलाका लागि निकै फाइदाजनक रुपमा रहेका बालीहरु नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषक तत्व पाइने खाद्यान्नहरुको समेत कमी आउन थालेको सुर्नया २ हटैराजकी तुला चन्दले बताए । यी अन्नबालीहरुले हुने फाईदाका बारेमा जानकारी नहुदा यी बालीहरु लोप भएका हुन् ।

समयसंगै कृषि गर्ने तरिका परिवर्तन भयो, संगै खेती गरीने बालीनाली पनि परिवर्तन हुदै गए । कोदो मादुरो जउँ खेतीबाट धान मकै आदी बाली जस्तो लाभ नहुनाले पनि यी बालीहरु लोप हुदै गएको किसानहरु बताउँछन् । पछिल्लो समय गाँउघरमा भैसीपालन घटेकाले पनि यो खेती लोप हुदै गएको किशानहरुको भनाइ छ ।

मादुरो, कोदो र जउँ लगायतका अन्नबाट बन्ने अधिकासं परिकारहरु घिउ, मोही र दुग्धन्य पदार्थहरुबाट बन्ने भएकाले पनि भैसीलोप संगै यो खेती पनि लोप भएको उनिहरुको भनाई छ । कोदो मादुरो र भटमासबाट बनेका परीकारहरुबाट बालबालीका ,गर्भवती सुत्केरी आमाको लागी निकै फाइदाजनक रहेपनि पछिल्लो समयमा यसको महत्व नबुझेकाले र यसको सरंक्षण गर्नुपर्छ भन्ने चेतना नभएकाले पनि यी बालीहरु लोप हुँहुदै गएको दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्ट बताउँछन् ।

जिल्लाको तत्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाँउपालिकामा अहिले काँहीकतै यी अन्नहरुको खेती भएको पाइन्छ । तर यो तुलनात्मक रुपमा निकै कम भईसकेको छ । हुन त स्थानीय जनप्रतिनिधिहरुले परम्परागत खेतीको संरक्षण गर्ने बताउदै आएका छन् । पुराना बालीहरुको संरक्षणका लागि गाउँपालिका लागिपरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको भनाइ छ ।

नयाँ बालीहरुबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बालीहरु लोप हुदै गएका छन । कृर्षि ज्ञान केन्द्रमार्फत र कृर्षि क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले किसानलाइ यी बालीहरुको महत्वको बारेमा बुझाएर तालीम दिन सक्यो भने संरक्षण गर्न सकिने बागबानी अधिकृत लक्ष्मीदत्त पाण्डेयको भनाइ छ ।

एउटा त यी अन्नबाट पाईने पौष्टिक तत्वको बारेमा किशानहरुलाई जानकारी नभएकाले यो खेती लोप भएको छ भने अर्को गाँउमा दुग्धजन्य पदार्थको अभावका कारण पनि यो खेती घटेको पाइन्छ । त्यसैले यी परम्परागत बालीहरुको महत्वको बारेमा जानकारी गराई यी बालीहरुलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यस्बाट बन्ने विभिन्न परिकारहरुको बारेमा जानकारी गराई यस्ता बालीहरुलाई संरक्षण गर्न जरुरी छ ।

तपाईंको प्रतिक्रिया दिनुस्