वडाअध्यक्ष विकले बाँडे १४ जना एकल महिलालाई न्यानो लुगा

label सुदूरखबर संवाददाता query_builder October, 13 2018

मदन विक/सुदूरखबर।
बाजुरा, असोज २७ । बाजुराको बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोदकुमार विकले वडाभित्र रहेका एकल महिलाहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।

नजिकिदै गरेको विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर वडा नं. ९ ले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजनासंगै वडाभित्रका श्रीमान गुमाएका १४ जना एकल महिलाहरुलाई चिसो छल्नका न्यानो लुगा वितरण गरेका हुन् ।

वडा अध्यक्ष विकले न्यानो लुगासंगै उनीहरुलाई दाल, चामल, तेल, समेत सहयोग गरेका छन् । जिल्लामा चिसो बढेकोले उनीहरुलाई आफ्नो पारिश्रमिकबाट उपलब्ध भएको रकमले न्यानो लुगासंगै खाद्यन्न सहयोग गरेको वडा अध्यक्ष विकले बताए ।

वडाअध्यक्ष विकले जनप्रतिनिधि हुनुभन्दा अगाडि निर्वाचनका बेला बाचा गरेअनुसार आफूलाई उपलव्ध हुने पारिश्रमिक, विभिन्न बैठक, तालिम र गोष्ठीबाट पाउने रकमको ४० प्रतिशत रकम वडाभित्रका अति गरिब, विपन्न परिवार, असाहय, टुहुरा, अपाङ्ग बालवालिकाका लागि सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

वडाभित्र श्रीमान गुमाएकी अतिगरिब तथा एकल महिलाहरुलाई दशैंमा लगाउने न्यानो लुगा र घरमा खाद्यन्न र तेल समेत नहुने अति गरिब विपन्न परिवारहरुका एकल महिलाहरुका लागि यो आफ्नो सानो सहयोगले केही दिन चिसो छल्न र दैनिकी छाक टार्न एकल महिलाहरुलार्ई सहयोग पुग्ने वडा अध्यक्ष विकले बताए ।

वडाअध्यक्ष विकले दिएको न्यानो लुगा र खाद्यन्न सहयोगले दशैंमा केही दिनका लागि भएपनि परिवारको गुजरा चलाउन सहयोग पुग्ने एकल महिला विर्मा चँदाराले बताइन् ।

तपाईंको प्रतिक्रिया दिनुस्