खरभित्रको कहर : दार्चुलामा भिरबाट लडेर एकैदिन दुई घाइते

label सुदूरखबर संवाददाता query_builder October, 13 2018

लोकेन्द्रप्रसाद जोशी/सुदूरखबर।
दार्चुला, असोज २७ । दार्चुला जिल्लाभरी यो समय महिलाहरु खर काट्नमा ब्यस्त छन् । यो क्षेत्रमा हिउँदमा सुख्खा खडेरी हुने भएकोले आउँदो ६ महिनासम्म घरपालुवा जनावरहरुको आहाराकालागी खर (घासँ) जम्मा गरेर राख्ने गरिन्छ ।

अधिकांश महिलाहरुले खर काट्ने भएपनि कुनै–कुनै क्षेत्रमा पुरुषहरुले समेत सहयोग गर्ने गरेका छन् । खेतमा खाद्यबाली लगाइने र भिर पाखाहरुमा खर संरक्षण गरेर राखीन्छ । कृर्षि बालि भित्याएर किसानहरुलाइ अहिले खर काट्ने चटारो छ । केहि दिनपछि खर सुकिसक्ने भएकोले हरियो खर काट्ने हतारो पनि उत्तिकै छ ।

दिनभरी भोक तिर्खा नभनी काटेको खरलाइ ठुलो भारी बनाएर बेलुकिपखँ घर ल्याउने र भिर पाखाहरुमा समेत सुकाउँनकोलागी काटेर छोड्ने गरिन्छ । निकै जोखीम मोलेर डरलाग्दा भिर पाखाहरुबाट घासँ(खर) संकलन गर्ने केहि महिलाले भिरबाट लडेर अकालमै ज्यान गुमाउन बाध्य छ । केहि भिर पाखाहरुबाट लडेर घाइते हुने गरेका छन् ।

वर्षेनि खर काट्ने क्रममा भिरबाट लडेर आधादर्जनको हाराहारीमा मानिसहरुको मृत्यु हुनेगरेको छ । दर्जनौ महिलाहरु घाइते हुने गरेका छन् । यसैक्रममा शनिबार दार्चुलामा घासँ काट्ने क्रममा भिरबाट लडेर एकै दिन दुई जना महिला घाइते भएका छन् ।

घाइतेमध्ये महाकाली नगरपालिका–५ गल्फैकी २४ वर्षीय गोमती ठगुन्नाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते ठगुन्नाको टाउकोमा गहिरो चोट लागेको छ ।

शनिबार बिहान स्थानीय सिराड वनमा घाँस काट्न गएका बेला भिरबाट करिव ४०/५० मिटर तल खसेकी ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि सुदुरपश्चिम प्रदेशको धनगढी रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

यसैगरी घाँस काटिरहेकै अवस्थामा भिरबाट लडेर ब्याँस गाउँपालिका ६ खातीगाउँकी १४ वर्षिय वालिका विनु खाती घाइते भएकी छन् । शनिबार विहानै स्थानिय वनमा घाँस काट्न गएका बेला भिरबाट खसेकी खातीको बाया खुट्टामा चोट लागेको हो । घाइते खातीको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

दैनिकजसो बिभिन्न क्षेत्रमा मानिसहरु भिरबाट खसेर घाइते र केहिको मृत्यु हुदा समेत गाइबस्तुकोलागी भन्दै जेनतेन खरको जोहो गर्ने गरेका छन् । प्रतेक परिवारले २ देखि २० सम्म गाई, भैसी, बाख्रा लगायत शाकाहारी घरपालुवा जनावरहरु पालेका हुन्छन् । उनिहरुको आहाराकोलागी ज्यानको बाजि लगाएर भएपनि यो समयमा आहारा (खर) संकलन गर्नुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् ।

तपाईंको प्रतिक्रिया दिनुस्