राष्ट्रिय जनमोर्चा नेता केसी भन्छन म राजाको दरवारमा टिका थाप्नकै लागि कहिल्यै गईनँ

label admin query_builder October, 17 2018

दसैँ आएपछि नयाँ लुगा लगाउन पाइने । मासु भात खान पाइने भएपछि उल्कै रमाइलो लाग्थ्यो । हुन त हाम्रो घरमै बाख्रा पल्ने गरिन्थ्यो । मासु त अरुबेला पनि खाईन्थ्यो । तर दसैँमा आफ्नै घरमा ढालेर फालाफाल गरेर खाँदाको मज्जा नै बेग्लै हुन्थ्यो । घरमै गाई बाख्रा थिए । भैंसी थियो । आफ्नै बारीमा धान उब्जनी गथ्र्यौँ । त्यही धान कुटाएर चामल बनाउने, चिउरा बनाउने गथ्र्यौँ । घरकै धान कुटाएर निस्केको चामल मुछेर टीका लगाईन्थ्यो । निकै रमाईलो थियो नि, ती दिन त ।

तर अहिले हेर्नुस त आफ्नो भन्ने केही छैन । जोसँग पैसा छ । उसले बजारबाट सबैथोक किनेर ल्याउँछ । जसको साथमा पैसा छैन उसका लागि त दसैँ, दसा छ हेर्नुस् ।

मान्छे त्यतिबेला गरिब नै भएको रैछ भने पनि आत्मनिर्भर त थियो । आफ्नै पाखुरी बजारेर केही जुगाड त गथ्र्यो । तर अहिले त सामाजिक परिवेश नै लथालिङ्ग छ । गरिब झन् गरिब भएको छ । धनी धनै धनले पुरिएको छ ।

कहिलेकाहीँ दुई पैसा पाँच पैसा पाईन्थ्यो
आफ्नो घरमा टीका थापिसकेपछि मामाघर गइन्थ्यो । नजिकै थियो मामाघर पनि । प्रायः जान्थें म । तर त्यतिबेला दक्षिणा थाप्ने भन्ने हुँदैन थियो । दिए पनि २ पैसा ५ पैसा त हुन्थ्यो । हुन त २ पैसा ५ पैसाको पनि त्योबेला निकै महत्व थियो । तर पनि दक्षिणाकै लागि टीका लगाउँदै हिँडेको चाहिँ याद छैन ।

आफन्त, इष्टमित्रसँग भेट हुँदा औधी खुसी लाग्थ्यो । पहिले र अहिले त टीका लगाएर दिने आशीर्वाद पनि ठिक उल्टो भएको छ । पहिलेका बुढापाकाले सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने आशिष दिन्थे ।

तर अहिले त त्यस्तो भनिन्न । दुई सन्तान ईश्वरका बरदान भन्ने छ नि त अहिले त । यो राम्रो पनि हो । समयानुकुल परिमार्जन हुनै पर्यो नि ।

अहिले त दसैँ वर्गीय भो
दसैँ भनेको घरपरिवार सबैसँगै बसेर मनाउने पर्व हो । तर हाम्रो मुलुकको अवस्थाले त्यस्तो हुन दिएको छैन । कुनै न कुनै परिवारका सन्तान घरपरिवारबाट टाढा जानुपर्ने बाध्यता छ । कुनै न कुनै परिवारका आफन्त विदेशमा पसिना बगाउन परेको छ ।

छोरा छोरी सबै विदेश छन् । छोरा आउला, नाति आउला भन्दै कुरेकाहरुले छोरा नातिलाई काठको बाक्सामा प्याक भएर आएको हेर्न बाध्य हुनु परेको छ । छोरा छोरी आउलान भन्ने आशमा घरमा आशिर्वाद दिन बसेको बुढाबुढी मात्रै छन् ।

सधैं दसैँ जस्तो उत्साह र रमाईलो गर्न पाईए पो दसैँ मनाइएको पनि खुसी लाग्नु । अहिले त ऋण काढेर, भ्रष्टाचार गरेर, घुस खाएर पैसा उडाएर मनाउने दसैँलाई मैले दसैँ नै मान्दिन । अहिलेको दसैँ त केही सीमित मान्छेहरुको रसरंग हो ।

जब हरेक नेपालीले खान पाउँछ, लाउन पाउँछ, त्यो दिन हो मैले दसैँ मनाउन पर्खेको । कोही पनि खान नपाएर विदेसिन नपरोस्, लाउन नपाएर विदेसिन नपरोस् । त्यस्तो बेला पो दसैँ मनाइएको सार्थक हुन्छ ।

ऋण काढेर ल्याएको पैसाले बाह्र महिनामा एक दिन मासु काटेर खानुपर्ने स्थिति छ । यो के दसैँ भयो र ? नेपाली नागरिकका आधारभूत आवश्यकता पूरा भएको दिन हो दसैँ ।

अहिले त दसैँ वर्गीय भो हेर्नोस् । लाउने खानेको मात्रै । हुँदा खानेको त के दसैँ के तिहार । धनीमानी, पैसा कमाएकाहरुलाई, घुस खाएर, भ्रष्टाचार गरेर पैसा जम्मा पारेकाहरुका लागि गुल्छरा उडाउने दिन पनि हो दसैँ ।

लुठे पिङको याद आउँछ
दसैँ आयो भनेपछि हामी आफै बाबियो काटेर लुठे पिङ बनाउँथ्यौँ । घर नजिकै प्रशस्तै रुखहरु हुन्थे । त्यही रुखमा पिंगको लठारो बुवा आमाहरुले टाँगिदिनु हुन्थ्यो । हामी बिहान पनि दिउँसो पनि अनि राति पनि त्यहीँ झुण्डिरहन्थ्यौं । अत्यन्तै रमाईलो हुन्थ्यो ।

अनि अलि ठूलो भएपछि चाहिँ चर्के पिङ पनि हामी साथीहरु मिलेर हाल्थ्यौं । पिङ थापेपछि, खेलेपछि चाहिँ दसैँ आएको अनुभूति हुन्थ्यो ।

अहिले त धेरै भयो यस्ता पिङहरु खेलेको छैन । अवसर पनि मिलेको छैन । हुन त अचेल त्यस्ता पिङहरु पनि हराउँदै गए । लोप हुँदै गएका छन् । शहरमा त देखिँदैन, तर गाउँघरमा पनि देखिन छाडेको छ ।

नेपाली कल्चर नेपाली संस्कृति हराउँदै गएको छ । विदेशी चरित्र हावी भयो दसैँमा पनि ।

यसपालि घर गइन्न
दसैँ मनाउन घरमै जाने विचार थियो मेरो । बाग्लुङमा जुन भाइको आँगनमा हामी सबै भाइहरु बसेर खेल्ने हाँस्ने सोच बनाएका थियौं, त्यही भाइ अहिले बिरामी भएर अस्पतालमा छ । भाइहरु, छोरा लगायत सबैसँग त्यसै अनुसारको सल्लाह भएर जाने तयारी पनि थियो ।

तर जसको घरमा गएर बस्ने हो, त्यही भाइ नै अहिले विरामी भएर काठमाडौँमै अस्पतालमा उपचार भइरहेको छ । त्यसैले त्यहाँ जाने कार्यक्रम योपटकका लागि क्यान्सिल भयो ।

पहिले आमा, बासँग टीका थाप्थें । सासु, ससुरा, मावलामा बाबा, बज्यै हुँदा टीका लगाउँथें । तर उहाँहरु नभएपछि मान्छे खोज्दै गएर टीका लगाएको छैन । धेरै भयो मैले टीका नलगाएको ।

तर छोरा, छोरी, श्रीमती, नाति नातिनालाई टीका लगाईदिन्छु । भान्जाभान्जीहरुलाई पैसा पनि दिन्छु । तर मैले लगाएको छैन ।

राजाकोमा टीका थाप्न कहिल्यै गईनँ
दसैँमा धेरैजसो राजनीति गर्ने व्यक्तिहरु त्यतिबेला राजाहरुकोमा टीका थाप्न जान्थे । तर मलाई कहिल्यै त्यस्तो जाउँ जस्तो लागेन । म कहिल्यै पनि उनीहरुसँग गएर टीका लगाईन । मलाई राजाको हातबाट टिका लगाए स्वर्ग गइन्छ भन्ने पनि लाग्थेन । जो जान्थे, आफ्नो फाइदा र चाप्लुसी गर्नेहरु हुन्थे ।

म त पहिलेदेखि नै राजाहरुको विरोध गर्दै आएको मान्छे । २०२८ सालमा पञ्चायत विरोधी आन्दोलन गर्दा म जेल परें । त्यही समयतिर तत्कालीन राजा महेन्द्रको निधन भयो ।

राजाको निधनमा शोक मनाउन जेलमा रहेका सबै कैदी तथा थुनुवालाई जबरजस्ती कपाल मुण्डन गर्न लगाईयो । मलाई पनि गर्नुपर्छ भन्ने आदेश आयो । तर मैले कपाल मुण्डन गरिन । राजतन्त्र प्रति कहिल्यै पनि श्रद्धा रहेन मेरो ।

कौडामा जितौरी हारें
दसैँमा म जुवा तास भन्ने खेल्दिन । हुन त जुवा तास अरु बेला पनि खेल्दिन । खेल्नै आउँदैन मलाई त । मेरो रुचीको कुरा पनि होइन । तर जिन्दगीमा एकचोटी चाहिँ कौडा हान्या छु । २०१५ सालमा कसैले जुवा खेल्दा जितेको खुसीमा मलाई जितौरी दिएका थिए ।

त्यतिबेला काठमाडौंको नक्सालमा बस्थ्यौँ हामी । तर त्यो अरुले दिएको जितौरी पनि खोस्नलाई त्यही घरकाले मलाई कौडा खेल्न लगाए । मलाई त आउँदैन थियो । तर पनि अरुले दाउ हेर्दिने (खाएको नखाएको अरुले बताइदिने) मैले कौडा समाएर हान्ने गर्नु पर्ने भयो ।

कसरी जित्छ भन्ने मलाई आउँदैन थियो । तर त्यसरी खेल्दा पनि मैले २ रुपैयाँ जितौरीले १२ सय जितेछु । कसरी जितें अहिलेसम्म पनि त्यसको भेउ पाउँदिन म ।

पछि अरु जुवाडेले जितेको थाहा पाएर मसँग खेल्न आए । त्यसको १ घण्टा पनि नबित्दै त १२ सय गइहाल्यो नि । सबै हारें । त्यस पछि आनन्द भयो । त्यही एक पटक हो अनुभव लिएको । त्यसपछि अहिलेसम्म जुवा तास, कौडा केही पनि छोएको छैन । कौडा खेल्दा कसरी खाइन्छ, कसरी खाइँदैन भन्ने अहिलेसम्म पनि थाहा हुन सकेन ।

(नेता केसीसँग उज्यालोका लागि नवराज फुयाँलले गरेको कुराकानीमा आधारित)

तपाईंको प्रतिक्रिया दिनुस्