मानसखण्ड दार्चुला धार्मिक महा महोत्सव सुरु (फोटो फिचर)

label सुदूरखबर संवाददाता query_builder October, 25 2018

लोकेन्द्रप्रसाद जोशी/सुदूरखबर।
दार्चुला, कात्तिक ८ । महेन्द्र नमुना मावि खलंगाको शैक्षिक विकासका साथै धर्म जागरण, आत्मा शान्ति र समाज बिकासकालागी मानसखन्ड दार्चुला धार्मिक महामहोत्सव शुरु भएको छ । बिहीबार एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन भएको महामहोत्सव १५ गतेसम्म महेन्द्र नमुना माविको प्रांगणमा सञ्चालन भइरहेको हो ।

निकै झकिझकाउका साथ उद्घाटन गरिएको मानसखण्ड दार्चुला धार्मिक महामहोत्सवको कलश यात्रा नेपाल भारत दुवै ठाउँमा गरिएको छ । पहिलो पटक आयोजना गरिएको महामहोत्सवमो कलश यात्रा महेन्द्र मावि खलंगाको मूल गेटबाट शुरु भएर भारत उत्तराखण्डको धारचुला हुँदै फर्किएको थियो । एक देशको कलश यात्रा अर्को देशमा गएर यात्रा गरिएको दार्चुलाको लागि नौलो हो ।

बिद्यालयलाइ राष्ट्रमै नमुना बिद्यालयकोरुपमा स्थापित गर्नुकासाथै नैतिक शिक्षाको प्रबद्र्धन, मन्दीर निमार्ण, शैक्षिक विकास र धर्मलाइ विज्ञानसंग जोडेर समाज परिवर्तन गर्न महामहोत्सवको आयोजना गरीएको महेन्द्र माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले बताए ।

महामहोत्सवमा प्रतेक दिन बिहान ५ बजेदेखि योग शिविर, धार्मिक प्रवचन, नैतीक शिक्षा लगायत विभिन्न कार्यक्रम सञ्चालन हुने भएकोले महोत्सव अवधिभर सहभागि भइ धार्मीक ज्ञान प्राप्त गर्न आयोजक र अतिथिहरुले आग्रह गरेका छन् ।

धार्मीक महायज्ञमा राष्ट्र शान्ति, पितृमोक्ष, सहस्त्र सालिग्राम पूजा अर्चना, बिराटमय संगीतका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पुर्ण तयारी गरिएको छ । माबि खलंगामा चालु शैक्षिक सत्रबाट प्राविधिक बिषय अन्तरगत सिभिल इन्जिनियरीङ विषयको पढाइ शुरु गर्न लागेका कारण आर्थिकक सहयोग पुग्ने उदेश्यले समेत महोत्सबको आयोजना गरिन लागेको हो ।

विद्यालयलाइ प्राविधिक शिक्षालयको रुपमा स्थापना गर्न महोत्सबले महत्तपूर्ण भूमिका निर्वाह गर्ने र प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोगकोलागी पहल गर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य मान बहादुर धामीको भनाइ छ ।

प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा महेन्द्र नमुना माविको घेरपर्खाल निमार्णकोलागी ५ लाख रुपैया र सडक बालबालिकाको संरक्षणकालागी ९ लाख रुपैयाँ बजेट विनियोजन भएको महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि एबं प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले बताए ।

महोत्सव उद्घाटन समारोहका सभापति एवं जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले धर्मलाइ राजनीति र राजनीतिलाइ समाज सेवासंग जोडेर समाज परिवर्तन गर्नसक्नुपर्ने धारणा राखे ।

सतकर्म र सद्विचारका साथ सञ्चालन गरिएको मानसखण्ड दार्चुला धार्मिक महामहोत्सवमा पहिलो दिन जनसहभागिता सोचे अनुरुप हुन सकेको छैन् । जिल्लामै नैतिक र धार्मिक शिक्षाबाट समाज परिवर्नतनको लागि सबैले महा महोत्सवमा सहभागि जनाउन आयोजकले आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्