गाईपालनबाट मासिक दुई लाख आम्दानी

label सुदूरखबर संवाददाता query_builder November, 01 2018

पाल्पा, कात्तिक १५ । गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

वि.सं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गर्नुभएका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ ।

गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ । चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आएका छन् । उनले मासिक रु डेढ लाख आम्दानी गर्दै आएका छन् । रेश्मीले भने, ‘गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थालेका छन् ।

एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी हुन्छ । गाईपालनसँगै उनले बहुबाली खेती थालेका छन् । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हुँदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्