लाखौको कारोबार गर्न भनि नेपाल छिरेका भारतिय ब्यापारीको फूलमाला सोचेजस्तो नबिक्दा ब्यापारी खिन्न

label admin query_builder November, 07 2018

प्रसस्त नेपाली फूल उत्पादन भएपछि भारतीय फूलको कारोबार ह्वात्तै घटेको छ । विगत वर्षहरूमा नेपाली फूलको उत्पादन नहुँदा भारतीय फूलले बजार ढाक्थ्यो ।गत वर्ष एक लाख रूपैयाँसम्मको भारतीय फूल बिक्री गरेका धरान–२ देशीलाइनका व्यापारी अमन चौधरी यो वर्ष निराश छन् । उनका अनुसार ५० प्रतिशत नै भारतीय फूलको व्यापार घटेको छ । कृषि उपज बजार स्थल धरानका अनुसार विगत वर्षसम्म भारतबाट ५० प्रतिशत फूल आयत हुने गरेको थियो । यो पटक नेपाली फूलले नै धान्ने बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । ‘यो पटक ८० प्रतिशत नेपाली फूलले नै धान्ने अनुमान गरेका छौं ।’ उनले भने ।

भारतीय फूल बेच्ने चौधरीजस्ता व्यापारीहरूमा यो वर्ष निराशा छाएको छ । चौधरीले गत वर्ष भारतीय फूलबाट तिहारको पाँचदिनमा झण्डै ५० हजार रूपैयाँ नाफा कमाएका थिए । यो वर्ष साँवा नै गुम्ला कि भन्ने चिन्ता उनमा छ । भन्छन्, ‘गत वर्ष भारतीय सयपत्रीबाट ५० हजार नाफा कमाएँ । यस वर्ष साँवा नै उठाउन गाह्रो छ ।’कृषि उपज बजार स्थलको वार्षिक आँकडा हेर्दा आर्थिक वर्ष २०७४/०७५ मा २ करोड २५ लाख रूपैयाँको फूलको कारोबार भएको देखिन्छ । जुन २२५ मेट्रिक टन हो । आव २०७३/०७४ मा भने एक करोड ८० लाखको कारोबार भएको थियो । यो वर्ष ३ करोडको कारोबार हुने अनुमान कृषि बजारले गरेको छ । जसमा ८० प्रतिशत नेपाली फूलले नै बजार ढाक्ने अनुमान कृषि बजारको छ ।

नेपाली फूल नै अत्यधिक उत्पादन भएकाले यो वर्ष मूल्यसमेत घटेको छ । धनकुटा शहीदभूमी गाउँपालिका–१ का फूल कृषक हरिबहादुर राईले यो वर्ष मूल्य नै नपाएको बताए । ‘गत वर्ष ५०–६० रूपैयाँमा बेचेको मुठा अहिले १५–२० मा पनि बिकेको छैन ।’ उनी भन्छन् । भारतीय फूलको कारोबार गर्दै आएका अधिकांस व्यापारीको अवस्था चौधरीको झैं छ । लागत नउठ्ला कि भन्ने चिन्ता सबैजसो व्यापारीमा छ ।

गत वर्ष फूल अभावका कारण अधिकांस उपभोक्ताले भारतीय फूलबाट गुजारा चलाएका थिए । ‘नेपाली फूल नभएपछि भारतीय फूल प्रयोग गरेका थियौं,’ धरान–१५ का उपभोक्ता सुमन न्यौपान भन्छन् । नेपालमै प्रसस्त फूल भएकाले भारतीय फूलले बजार नलिएको फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सदस्य प्रेमप्रसाद पराजुलीले बताए । धरानमा पहाडी क्षेत्र तथा मोरङको उत्तरी भेगबाट फूल आउने गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्