सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि : प्रधानमन्त्री ओली

label सुदूरखबर संवाददाता query_builder November, 09 2018

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् ।

तिहारका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले जनताको पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर आगामी चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइने छ ” सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, “सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न हामी दृढ संकल्पित छौं । ”

हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । यसै उद्देश्यका लागि केही समय अघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरिएको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको पनि उल्लेख गरेका छन् । समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्