दुर्गम सिगासमा पाँच सडक निर्माण हुँदै

label सुदूरखबर संवाददाता query_builder November, 09 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, कात्तिक २३ । बैतडीको सिगास गाउँपालिकाका विभिन्न ग्रामीण सडकहरुको डिपिआर तयार पार्ने काम शुरु भएको छ ।

गाउँपालिकाको केन्द्रसम्म समेत सडकको पहुँच नभएकाले गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।  गाउँपालिकाले सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणका लागि गाउँपालिकाका कर्मचारी खटाइसकेको अध्यक्ष धामीले बताए ।

५ ओटा सडकको डिपीआर बनाएर निर्माण कार्य थालनी गर्ने अध्यक्ष धामीले बताए । विफ्याकटाल–सौनखेत–गर्जे, विन्द्रावन–सिगास, गाँजरी–कुर्चीनेटा–थालाकाँडा, श्रीभावर–गन्सुर–दोगाड र देउलेक–दोगाड हुँदै मौरेबगर सडकको डिपीआर तयार पार्ने कार्य भइरहेको उनले बताए ।

सडक निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन गरेको छ । सडकको पहुँचबाट टाढा रहेका नागरिकको सडक पहुँच पुर्याई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष धामीले बताए ।

फाइल फोटो

तपाईंको प्रतिक्रिया दिनुस्