
डोटी: जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक (एसपी) विष्णुहरी कोइरालाले लागु औषध दुव्र्यशनले मानिसको जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउने बताएका छन् ।

सामाजिक विकास कार्यालय डोटीले डोटी बहुमुखी क्याम्पसमा आयोजना गरेको लागु पदार्थ दुव्र्यशन सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै एसपी कोइरालाले यस्तो बताएका हुन् ।
लागु पदार्थ दुव्यशनबारे आफ्नो पस्तुतीकरण क्रममा उनले भने–‘मान्छे लागुपदार्थको कुलतमा फसेपछि जीवनको मिसनमा जान सक्दैन, उ मसान अर्थात मृत्युको मुखमा जान्छ ।’

यद्यपी कुलतमा फसेका व्यक्तिहरुलाई पनि विभिन्न पुनसर््थापना केन्द्रमा राखेर सुधार गर्न सकिने उनले बताए ।
वर्तमान अवस्थामा लागु औषध सेवनको अवस्था, त्यसको रोकथामका लागि भैरहेका प्रयास, कानुनी प्रावधानहरु लगाएत विषयमा प्रशिक्षण दिंदै कोइरालाले नेपाल प्रहरीले लागु औषध अपराधलाई नियन्त्रण र न्यूनिकरण गर्न ‘लागु औषध विरुद्धको महाअभियान–२०७९’ सञ्चालन गर्दै आएको बताए ।

त्यस्तै डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले लागु औषधको कुलतमा फसेको मान्छे बारे उसको घरपरिवारले मात्रै पीडाबोध गर्न सक्ने बताए । त्यस्ता दुव्र्यशनीमा फसेको मान्छे विभिन्न अपराधिक गतिविधीमा संलग्न हुने र अन्तमा मृत्युलाई रोज्ने अवस्थामा पुग्ने गरेको पाईएको उपाध्यायले बताए ।
हरेक नागरिकको कर्तव्यबोध गराउन निमित्त प्रजिअ उपाध्यायले भने–‘हरेक मान्छेले राज्यले केहि गर्न सकेन भन्दै राज्यप्रति फ्रस्टेशन भएको देखिन्छ । राज्य अमूर्त कुरा हो, तर हामी सबै राज्यकै अङ्ग हो । हरेक इन्डिभिज्युअलले आफु पनि राज्यकै अङ्ग भएको बोध गर्दै जिम्मेवार भएर लागे व्यक्ति, परिवार, समाज, देश र अन्तराष्ट्रिय समुदायमै योगदान गर्न सकिन्छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत महिला तथा तथा बालबालिका सेवा केन्द्र प्रमूख एवं प्रहरी सहायक निरिक्षक राम नाथले लागु औषध दुव्र्यसन, साइबर अपराध लगाएत हरेक समस्याबारे नयाँ पींढीका युवा विद्यार्थी र बालबालिकाहरु अझ बढी सचेत हुनुपर्नेमा जोड दिए । प्रविधीको सदुपयोगबारे डोटेली गीतमा नाथले भने–‘आजभोलिको मोबाइल हजुर मालपन मालै हो, जाणेपछि साधनै हो नजाणे कालै हो’ ।
त्यस्तै जिल्ला अस्पतालका डाक्टर सुजित कुमार मण्डलले विद्यार्थीहरुमाझ लागु औषध दुव्र्यसनबाट स्वास्थ्यमा पर्ने असर, लाग्ने रोगहरु र रोकथामका उपायहरुबारे प्रशिक्षणात्मक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय डोटीका प्रमूख जयदेव महराले समाज सुधारका लागि आफूहरुले विभिन्न विद्यालय, क्याम्पसहरुमा लागु औषध, बाल विवाह, बहुविवाह न्यूनिकरण लगाएतका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । साथै सबै सरोकारवालाहरुले यस अभियानमा सक्रियतापूर्वक लाग्नुपर्ने महराले जोड दिए ।
उक्त सचेतनामूलक कार्यक्रममा डोटी बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापकहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।






























