
जिल्ला स्तरीय संयुक्त कृतिम घटना अभ्यासको क्रममा मृत्यु भएका सशस्त्र जबानका परिवार र प्रशासन बीच सहमति भएको छ । हिजो सोमवार भएको घटनाको विषयमा साँझ अबेर सम्म प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पिडित परिवार सँग विभिन्न सहमति गरेको छ ।

मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरीनुका साथै दाह संस्कारको लागी मृत शरीर परिवारलाई बुझाइने,दाह संस्कार कार्यमा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङले सरिक हुने, मृतक हबलदार लाइ प्रचलित कानुन बमोजिम पाउने सेवा सुविधा सम्बन्धी गृह मन्त्रालय,आन्तरिक मामिला तथा तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सिफारिस गर्ने, जिल्ला समन्वय समिति बझाङ मार्फत अन्य सम्बन्धित निकायमा समेत सहयोग गर्ने पीडित पक्ष बिच सहमति भएको छ ।

यही जेठ २८ गते सोमवार विपद् उद्धार सम्बन्धी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर डोटीमा दरबन्दी भइ सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङमा कार्यरत सशस्त्र प्रहरी जवान २६ वर्षीय नरेन्द्र सिंह धामीको सेती नदीमा डुबेर मृत्यु भएको थियो । सहमति बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा ,प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल, सुरक्षा निकायका प्रमुखहरू, केदारस्यु गाउँपालिका उपाध्यक्ष मनिसा धामी, केदारस्यु गाउँपालिका ७ का वडा अध्यक्ष, पत्रकार र पीडित पक्ष लगाएतको उपस्थिति रहेको थियो ।
































