
बझाङ- बित्थडचिर गाउँपालिकाका विभिन्न मठमन्दिरमा नवरात्र पुजा सम्पन्न भएको छ ।
बित्थडचिर गाउँपालिका-४ मल्लाभतडामा रहेको कालिका भगवती लगायतका मन्दिरमा नवरात्र पुजा सम्पन्न भएको हो ।

घटस्थापनाको दिन जमरा राखि आरम्भ गरिएको नवरात्र पुजा आज समापन गरिएको वडाध्यक्ष कलक बहादुर बोहराले जानकारी दिनुभयो ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौं रुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूले ९ दिनसम्म पुजा आरधना गरेका छन् । यो यसमा कालिक भगवती मन्दिरमा पुजा आरधना गर्दा र बोका बलि दिँदा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको वडाध्यक्ष बोहराले बताए । पुजा समापनको दिन शुक्रबार आज उक्त मन्दिरमा १९ वटा बोकाको बलि दिएको उक्त मन्दिरका पुजारी लक्ष्मीकान्त जोशीले बताउनुभयो ।
भोलि सनिवार दसैंको दिन कालिका भगवती मन्दिरमा राखिएको जमरा घरमा ल्याइ मान्यजनको हातबाट लगाइने भएको छ । त्यस्तै दुर्गा भगवती सबै मठमन्दिरमा आज पसुबलि सहित विशेष पुजा आरधना गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।






























