
डोटी: शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यस वर्ष विभिन्न पाँच जिल्लाका ४ सय ४३ माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्ने भएको छ ।

गत शैक्षिक वर्षसम्म देशभरका ७२ जिल्लाका ५ हजार ९ सय ४० मा.वि.हरुको परीक्षण गरिसकेकोमा अन्तिम चरणमा यस वर्ष डोटी, बैतडी, जुम्ला, जाजरकोट र इलाम जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरुको परीक्षण गरिने शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ ।
जसका लागि व्यक्तिगत रुपमा करार सम्झौता गरी परामर्शदाताहरु फिल्डमा खटाईएको छ ।
जस अन्तरगत डोटीमा ८५ वटा सामुदायिक विद्यालयहरुको परीक्षण गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमूख भीमप्रसाद पनेरुले जानकारी दिए ।

डोटीमा १६ जना परामर्शदाता जनशक्तिहरु खटाईएको र एक जनाले ५ वटा जति विद्यालयको परीक्षण गर्ने जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा खटिएका परामर्शदाता शंकर कार्कीले जानकारी दिए ।

परीक्षणका क्रममा विभिन्न ८९ वटा औजारको प्रयोग गरीने, त्यसमा ४ वटा विकल्पहरु रहने र सोही आधारमा विद्यालयको स्कोर रेटिङ्ग गरी अरु विद्यालयसँग तुलना गरिने कार्कीले बताए ।
जसका लागि विद्यालयको भौतिक अवस्था, विभिन्न योजना, सिकाइ उपलब्धी लगाएतका कागजातहरु अध्ययन, दश/दश शिक्षक, अभिभावक र विद्यार्थीहरुसँग छुट्टाछुट्टै अन्तरक्रियात्मक छलफल सँगै कक्षा अवलोकन पनि गरिने उनले बताए ।
यस परीक्षणबाट प्राप्त आधारहरु सहित सम्बन्धीत विद्यालय, सम्बन्धित स्थानीय तह र केन्द्रमा शिक्षा मन्त्रालयलाई नीतिगत रुपमा सुधार गर्नुपर्ने कुराहरु सहितको प्रतिवेदन पेश गरिने उनले जानकारी दिए ।
जसले विद्यालयको पनि स्वमूल्यांकन हुने उनको भनाइ छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रमार्फत खटाईएका परामर्शदाताहरुको टोली आफ्नो विद्यालयमा पुगेर परीक्षणको कार्य गरिरहेको सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए ।
विद्यालय शिक्षाको उपलब्धी र कार्यसम्पादन परीक्षण गरी सुधारका लागि सुझाव दिने उद्धेश्यले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले काम गर्दै आएको छ ।






























