
अत्तरियाः शनिबार एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने जालपादेवी केबलकारको शिलान्यास गरेकी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले यो परियोजना अघि बढाएका हुन्।


७ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकार ३.१ किलोमिटर लामो हुनेछ। यसमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्, जसले यात्रुलाई करिब १० मिनेटमा यात्रा सम्पन्न गराउनेछ। यात्राका क्रममा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाश धाम, र हात्ती ढुङ्गालगायतका धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्न सकिनेछ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जनात्मक पर्यटनलाई प्रवर्द्धन गर्ने बताएका छन्।
केबलकार निर्माणका अध्यक्ष ढकालले जालपादेवी केवलकारको शिलान्यासले पर्यटन सर्किट निर्माणको लक्ष्यमा नयाँ उत्साह थपेको बताए। स्थानीय समुदाय, राजनीतिक दल, र नेपाल सरकारका निकायहरूको सहकार्यले यो परियोजना अन्य केबलकार निर्माण क्षेत्रका लागि उदाहरण बन्ने उनको भनाइ छ।
परियोजनाको पहिलो चरणको काम वैशाख महिनामा सुरु गरिएको थियो। हालसम्म आयोजनास्थलका १,८६६ रुख काटी २० बिघा जमिन कम्पनीको नाममा ल्याइएको छ। एक वर्षभित्र निर्माण सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याउने योजना छ।

सञ्चालक चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारले सुदूरपश्चिमसहित छिमेकी प्रदेशहरूको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। अर्का सञ्चालक सूर्यबहादुर थापाका अनुसार यो परियोजनाले क्षेत्रीय पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
परियोजनाको आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई प्रदान गरिनेछ। साथै, चिसापानीमा ५० बेड र राजकाँडामा १०० बेडको होटेल तथा सभाहल निर्माण गरिनेछ।
परराष्ट्रमन्त्री आरजु राणाले यस क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रयासरत रहेको बताउँदै जालपादेवी केबलकारलाई पर्यटन क्षेत्रको मेरुदण्डका रूपमा विकास गरिने प्रतिबद्धता जनाएकी छन्।
सुदूरपश्चिमको पर्यटन क्षेत्रमा यो केबलकारले महत्त्वपूर्ण योगदान पुर्याउने र प्रदेशको आर्थिक उन्नतिका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
सम्बन्धित समाचार





































