
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले नगरपालिका भित्र बिभिन्न खाले निर्माण तथा पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन निर्माण व्यवसायीहरूसँग विशेष अन्तरक्रिया तथा छलफल गरेको छ। नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समयमै निर्माण कार्य पूरा गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइएको छ।

अन्तरक्रियामा नगर उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्ट, प्रशासकिय अधिकृत शिवराज भाट, वडा अध्यक्ष प्रेम बडैला, ईन्जिनियर पूर्ण कुँवर तथा निर्माण व्यवसायीहरूको उपस्थिति थियो। छलफलका क्रममा नगर प्रमुख भट्टले पालिकामा थोरै थोरै बजेटका योजनाहरू पनि समयमा सम्पन्न नभएको गुनासो गर्दै निर्माण व्यवसायीहरूलाई कामप्रति जिम्मेवार बन्न आग्रह गरे। विकासको गति देखाउनका लागि मात्र ठेकेदारहरूले समय लम्ब्याउने परिपाटी बसेको हुँदा यसलाई अन्त्य गर्दै आगामी दिनमा समयमा नै योजना सम्पन्न गर्न निर्देशन दिएका छन्।

नगरपालिकाले विशेष परिस्थिति बाहेक पटक–पटक म्याद थप्ने प्रथा अन्त्य गर्दै तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारहरूसँगको ठेक्का सम्झौता खारेज गरिने स्पष्ट पारे। पालिकामा केही कामै भएको छैन भन्ने धारणा हटाउनका लागि पनि ढिलासुस्ती रोक्नुपर्ने नगर प्रमुख भट्टले बताएका छन ।

नगर उपप्रमुख रोकायाले पनि निर्माण व्यवसायीहरूलाई समयमा नै योजना सम्पन्न गर्न आग्रह गर्दै ढिलासुस्तीले विकासको गति अवरुद्ध हुने बताइन्।


कार्यक्रममा ईन्जिनियर पूर्ण कुँवरले निर्माण व्यवसायीहरूले सबै योजनाहरू तोकिएको समय अबधि भित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन ।

यस अन्तरक्रियाले नगरपालिकाभित्रका विकास योजनाहरू छिटो सम्पन्न गर्न सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

































