
अत्तरिया: गोदावरी नगरपालिकाको साझेदारी, कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग, र सैपाल युवा क्लबको व्यवस्थापनमा सञ्चालित महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण परियोजना उद्घाटन गरिएको छ।
गोदावरी नगरपालिका वडा नं ८ स्थित खेलमैदानमा आयोजित सो कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गरेका हुन्।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख भट्ट तथा बिशिष्ट अतिथिका रूपमा वडा नं ८ का अध्यक्ष गोविन्द चौधरी, जिल्ला खेलकुद विकास समिति पदाधिकारी, विभिन्न खेल संघका प्रतिनिधिहरू तथा खेलाडीहरू उपस्थित थिए।

खेलकुदले अनुशासन र सकारात्मक ऊर्जा दिन्छ
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले बालबालिका तथा युवाहरू पछिल्लो समय मोबाइलको लत र दुर्व्यसनमा फस्दै गएकाले खेलकुदलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। खेलकुदले अनुशासन, आत्मविश्वास, र मानसिक सुदृढता प्रदान गर्ने उल्लेख गर्दै उनले नगरपालिकाले खेल पूर्वाधार र प्रशिक्षण कार्यक्रमहरूमा लगानी बढाइरहेको बताए।


उनले गोदावरी नगरपालिका वडा नं ३ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग स्थलगत अनुगमन सम्पन्न भएको बताए। फुटबल र क्रिकेट मात्र नभई अन्य खेलहरूलाई पनि प्रवर्द्धन गर्दै नगरपालिकाले नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको उनले जानकारी गराए।


खेलाडी उत्पादनका लागि पूर्वाधार विस्तार
नगर प्रमुख भट्टका अनुसार, खेलकुदलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधार निर्माण, नियमित प्रशिक्षण, र खेलाडीहरूलाई अवसर प्रदान गर्ने योजना नगरपालिकाले अघि सारेको छ। उनले खेलकुद क्षेत्रको विकासमा स्थानीय निकाय, अभिभावक, तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

उनले खेलाडीहरूलाई आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन आग्रह गर्दै खेल क्षेत्रलाई पेशाको रूपमा अंगाल्न सकिने बताए। नगरपालिकाले निकट भविष्यमा थप खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको समेत उनले जानकारी गराए।
































