
बझाङः मष्टा गाउँपालिकामा नेतृत्व विकास, महिला अधिकार र संस्थागत विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वालोज अफ फिनल्याण्डको आर्थिक सहयोगमा साहारा नेपाल बझाङ्ग द्वारा सञ्चालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन तथा महिला सशक्तीकरण परियोजना” अन्तर्गत मष्टा गाउँपालिकाका विभिन्न वडामा नेतृत्व विकास, महिला अधिकार र संस्थागत विकाससम्बन्धी तालिम सम्पन्न भएको हो ।


२०८२ साल वैशाख २५ देखि २७ गतेसम्म मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला, वडा नं. ६ रिलु र वडा नं. ७ ठकुन्नामा आयोजित उक्त तालिममा वडा नं. ३ देखि ७ सम्मका कृषक समूहका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, साहारा नेपालका कर्मचारी तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेतृत्व सीप अभिवृद्धि गर्ने, महिलाहरूको हक–अधिकारको चेतना जगाउन र संस्थागत विकासका लागि आवश्यक व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको थियो । सहभागीहरूलाई समूह व्यवस्थापन, निर्णय प्रक्रियामा सहभागिता, लैङ्गिक समानता, महिला सशक्तीकरणका कानुनी प्रावधानहरू, संस्थागत योजना तथा लेखा व्यवस्थापन जस्ता विविध विषयमा प्रशिक्षण गरिएको परियोजना फिल्ड संयोजक दिनेश रोकायाले बताउनुभयो ।
तालिमले आफूहरूको व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याएको महसुस गराएको भन्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने सहभागीहरूले बताएका छन् । उक्त तालिमले महिला तथा कृषक समूहहरूलाई नेतृत्वदायी भूमिकामा सक्रिय बनाउँदै दिगो संस्थागत विकास र महिला सशक्तीकरणको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



































