

तिब्बतसँग सिमा जोडिएको उरै नाकाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको टोलीले निरीक्षण गरेको छ । शान्ति सुरक्षा देखि नाकाको अवलोकन गर्न टोलीले उरै भन्ज्याङ स्थित दुई नम्बर सहायक सीमा स्तम्भ लगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको बताइएको छ ।
टोलीमा प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठी , नेपाली सेनाका मेजर रमेश बानियाँ सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा प्रसाद भट्ट, लगाएत सुरक्षा कर्मीको उपस्थिति रहेको थियो ।


सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा प्रसाद भट्टले ४ दिन पैदल हिँडेर टोली उरै नाका पुगेको बताउनुभयो । उनले ५ हजार २ सय मिटर उचाईमा रहेको २ नम्बर पिल्लर र आसपासको क्षेत्रको अनुगमन गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीले नाकाको अनुगमन गदै यो नाका खोल्ने कुरा आइरहेकाले नाका खोल्न सके सम्भावना धेरै रहेको बताउनुभयो । चीनसँग सीमा जोडिएको बझाङको उरै भन्ज्याङमा पहिलो पटक पुग्दा प्रमुख जिल्ला अधिकारी ठकुराठीले थकाइ भुल्दै भने यो त सुन्दर र सम्भावनाको खानी रहेछ ।’ साथै नाका खोल्ने विषयमा सबैले आफ्नो आफ्नो तहबाट लाग्न जरुरी रहेको र आफूले गर्ने पहल सधै रहने बताउनुभयो ।
समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको उरै क्षेत्रलाई चारैतिर हिमालले घेरेको छ । उक्त ठाउँ देखेर सीमा अवलोकनमा पहिलो पटक पुगेका सबै जना मोहित भएका थिए ।

































