
बझाङ: नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बझाङका सभापति उमेश जेठाराले आफ्नो ३२ औं जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व स्वरूप जिल्लास्थित अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेका छन्।

सभापति जेठाराले जिल्ला अस्पतालमा भर्ना भएका ३५ जना बिरामीलाई स्याउ, केरा लगायतका फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
“जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा बिरामीहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले फलफूल वितरण गरेको हुँ,” सभापति जेठाराले बताए। समाजमा सानोतिनो भए पनि सकारात्मक योगदान गर्नु सबैको दायित्व रहेकोमा उनले जोड दिए।


सामान्यतया जन्मदिनमा भोज र पार्टी गर्ने प्रचलन रहेको बेला सभापति जेठाराले अस्पताल पुगेर मानवीय भावनासहितको कार्य गरेकामा बिरामी र तिनका आफन्तहरूले धन्यवाद प्रकट गरेका छन्।
युवा नेता जेठाराको यो कार्यले सामाजिक उत्तरदायित्वप्रति जागरुकता दिनुका साथै सकारात्मक सन्देश फैलाएको छ।






























