
कञ्चनपुर: जलवायु उत्थानशील समुदाय (CRC) परियोजनाअन्तर्गत खोज तथा उद्धार सम्बन्धी दुई दिने (चैत २९ र ३० गते) अभिमुखिकरण तालिम २०८२ सालको गत सोमबार सफलतापूर्वक सम्पन्न भएको छ।

NNSWA कञ्चनपुर, Mercy Corps तथा स्थानीय तहको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।

कृष्णपुर नगरपालिका–२ अन्तर्गत बन्द नदी (नयाँबस्ती), अठन्नीफाँटा(बंक) र मछेली (खल्लागोठ) का सामुदायिक विपद व्यवस्थापन समितिका खोज तथा उद्धार कार्यदलका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको आयोजकले जनाएको छ। तालिममार्फत विपदको समयमा प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको थियो।


कार्यक्रमको समापन कृष्णपुर–२ का वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्री भारतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। तालिममा नेपाल रेडक्रस सोसाइटीमा कार्यरत प्रशिक्षक लक्ष्मण दत्त भट्टले सहजीकरण गरेका थिए। उनले स्थानीय स्तरमै खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्न तालिम उपयोगी हुने बताए।
कार्यक्रममा सहभागीहरूले तालिमबाट सिकेका ज्ञान र सीपलाई आफ्नो समुदायमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसैगरी, CRC परियोजनाकी सहयोगी अधिकृत रिमा खनालले विपदको सामना सहज बनाउन र समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको स्पष्ट पारिन्।
कार्यक्रममा स्थानीय युवा क्लब, सुरक्षाकर्मी, सामुदायिक विपद व्यवस्थापन समितिका खोज तथा उद्वार कार्यदल सदस्यका साथै स्थानीय आपतकालीन सेवा केन्द्र, कृष्णपुर नगरपालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो।






























