
गुलरिया: “कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, बालबालिकाको स्वस्फुर्त निर्णय लिन सक्ने—सबैले निकालौँ निकास” भन्ने मूल नाराका साथ कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लागू औषध दुर्व्यसन विरुद्ध अन्तरक्रिया कार्यक्रम सञ्चालनमा रहेको छ।

कृष्णपुर नगर स्तरीय बाल सञ्जालको आयोजना तथा कृष्णपुर नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा हालसम्म वडा नं. १, २, ३, ४, ५ र ९ मा कार्यक्रम सम्पन्न भइसकेको छ भने वडा नं. ६, ७ र ८ मा कार्यक्रम सञ्चालन हुन बाँकी रहेको आयोजकले जनाएको छ। प्रत्येक वडामा करिब ५० जना बालबालिका तथा युवाको सक्रिय सहभागिता रहने गरिएको छ।

नगर स्तरीय बाल सञ्जालका सचिव टेक जोशीका अनुसार कार्यक्रममा लागू औषधको असर, यसको सामाजिक तथा व्यक्तिगत प्रभाव र रोकथामका उपायबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ। उनले कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्ना टोल–छिमेकमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरका कार्यक्रम प्रमुख प्रहरी नायव निरीक्षक विष्णुदेव भट्टले प्रशिक्षकको भूमिका निर्वाह गर्दै लागू औषध दुर्व्यसनका जोखिम, कानुनी पक्ष तथा बच्ने उपायबारे प्रशिक्षण दिइरहेका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको यस अभियानमा दुर्व्यसनमा फसेका बालबालिकाको समेत सहभागिता देखिएको छ, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको छ।

कृष्णपुर नगर बाल सञ्जालका अध्यक्ष अशोक धामी र कृष्णपुर महिला तथा बालबालिका शाखामा कार्यरत चन्द्रा तिमिल्सिनाको नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको हो।
कृष्णपुरकी नगर उप-प्रमुख द्रोपती रानाले बालबालिकालाई सही मार्गदर्शन दिन यस्ता सचेतनामूलक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताइन्। उनले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि परिवार, विद्यालय र समुदाय सबैको सहकार्य आवश्यक पर्ने धारणा राखिन्।
त्यसैगरी, कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाले बालबालिकालाई भविष्यका कर्णधारको रूपमा उल्लेख गर्दै उनीहरूलाई दुर्व्यसनबाट जोगाउन समयमै सचेतना फैलाउनु जरुरी रहेको बताए। उनले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, निर्णय क्षमता र सामाजिक जिम्मेवारी बोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा लागू औषध दुर्व्यसन न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, सहभागी बालबालिकाहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै समुदायस्तरमै सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यद्यपि, यस्ता कार्यक्रमहरू हलभित्र मात्र सीमित नगरी सार्वजनिक स्थल, टोलटोल र मुख्य बजार क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा सञ्चालन गर्न सके अझ प्रभावकारी बन्ने स्थानीय सरोकारवालाहरूको धारणा रहेको छ।

































