
बझाङः बझाङमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नपुगेको गुनासो उठाउँदै जेनजी युवा नेता कमल थापा सिको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ। उक्त ज्ञापनपत्रमार्फत विद्युत् विस्तारलाई तीव्रता दिन र बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरिएको हो।

ज्ञापनपत्रमा दुर्गाथली गाउँपालिका (५, ६, ७), थलारा गाउँपालिका (२, ३, ४, ७, ८), केदारस्यु गाउँपालिका (६, ७, ८) तथा बुङ्गल नगरपालिका (२, ३, १०) लगायतका विभिन्न बस्तीहरू अझै पनि विद्युत् सेवाबाट वञ्चित रहेको उल्लेख गरिएको छ। विद्युत् अभावकै कारण स्थानीयवासीहरू शिक्षा, स्वास्थ्य, सञ्चार तथा दैनिक जीवनका आधारभूत सेवाबाट समेत प्रभावित भइरहेका छन्।
नेता थापाले ज्ञापनपत्र बुझाउँदै भने, “२१ औँ शताब्दीमा पनि बझाङका नागरिक अन्धकारमा बस्न बाध्य हुनु दुःखद हो। अब सरकार गम्भीर भएर तत्काल ठोस कदम चाल्नुपर्छ।” उनले ठेक्का प्रक्रिया पूरा भइसके पनि कार्यान्वयनमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै निर्माण व्यवसायीहरूलाई काम छिटो सम्पन्न गराउन माग गरेका छन ।


त्यसैगरी, सुदूरपश्चिमको गौरवका रूपमा लिइने पश्चिम सेती जलविद्युत् आयोजना लामो समयदेखि अन्योलमा परिरहेको भन्दै यसलाई शीघ्र अघि बढाउनुपर्नेमा जोड दिइएको छ। आयोजना सञ्चालनमा आएमा हजारौँ युवालाई रोजगारी सिर्जना हुने र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। ज्ञापनपत्रमा विद्युत् आजको आधारभूत आवश्यकता भएकाले यसको अभावले जनजीवनमा गम्भीर असर परेको उल्लेख गर्दै सम्बन्धित निकायलाई उच्च प्राथमिकताका साथ काम अघि बढाउन निर्देशन दिन सरकारसँग आग्रह गरिएको छ।
साथै, निर्धारित समयमै आयोजना सम्पन्न गर्न ठेकेदारहरूलाई जिम्मेवार बनाउने व्यवस्था गर्न पनि माग गरिएको छ।स्थानीयवासीहरूले सरकारको ध्यानाकर्षण गराउँदै अब ढिला नगरी विद्युत् सेवा विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनमा ठोस निर्णय लिनुपर्ने बताएका छन्।































