
कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ। घम्कापट्टी टोलमा ५९ लाख रुपैयाँको लागतमा महाकाली कन्स्ट्रक्सन कम्पनी, महेन्द्रनगरद्वारा निर्माण गरिएको सुविधासम्पन्न भवन शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

गाउँपालिका अध्यक्ष निर्मल रानाले भवनको उद्घाटन गर्दै नयाँ संरचना सञ्चालनमा आएपछि प्रशासनिक कामकाज अझ सहज, छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले वडा कार्यालय भवन निर्माणसँगै सेवा प्रवाहमा गुणात्मक सुधार आउने बताउँदै स्थानीय तहमा सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे।

यसअघि आफ्नै भवन नहुँदा वडा कार्यालय देखतभुली स्वास्थ्य चौकी नजिकै रहेको भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो। अब स्थायी भवन सञ्चालनमा आएसँगै सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

वडा नं. ५ मा विपन्न रानाथारु समुदायको बाहुल्यता रहेको उल्लेख गर्दै अध्यक्ष रानाले उनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि गाउँपालिकाले निरन्तर सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडाध्यक्ष पहल बहादुर थापाले नयाँ भवन स्थापना भएपछि वडावासीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न सहज हुने बताए। उनले सेवा प्रवाहलाई जनमुखी बनाउनेतर्फ वडाले विशेष ध्यान दिने पनि स्पष्ट पारे।
यसैबीच, वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिहरूलाई छिट्टै सम्मान गर्ने तयारी गरिएको छ।
कार्यक्रममा पूर्व देखतभुली गाविस अध्यक्ष तनकलाल चौधरी, गाउँपालिका उपाध्यक्ष सपना राना चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, लालझाडी–१ का अध्यक्ष प्यारेलाल राना, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम सञ्चालन गाउँपालिका अध्यक्ष सचिवालय प्रमुख अमर सिंह धामीले गरेका थिए।
































