
बझाङः बझाङको जयपृथ्वी नगरपालिकामा बालविवाह अन्त्य तथा लैङ्गिक हिंसा प्रभावितका लागि सञ्चालित ‘महिला सुरक्षित आवास गृह’को दिगोपना सुनिश्चित गर्न उच्चस्तरीय पैरवी तथा समन्वय बैठक सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख चेतराज बजालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

UNFPA र साथी संस्था तथा PeaceWin को प्राविधिक सहयोगमा आयोजित बैठकमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना कार्यान्वयन र सुरक्षित आवास गृहको निरन्तर सञ्चालन प्रमुख एजेन्डा बने। प्रस्तुत कार्यपत्र अनुसार बझाङमा बालविवाह दर अझै ६६ प्रतिशत रहेको उल्लेख गर्दै सन् २०२६ सम्म बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्यमा जोड दिइयो।


नगर उपप्रमुख, वडाध्यक्ष तथा सरोकारवालाहरूले विद्यालयस्तरमा यौनिक शिक्षा र समुदायस्तरमा सचेतना कार्यक्रम आवश्यक रहेको बताए। साथै भ्रूण पहिचान गरी हुने गर्भपतन र डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा नयाँ चुनौतीका रूपमा देखिएको छलफलमा उठाइयो।
सुरक्षित आवास गृहको परियोजना अवधि सकिन लागेकाले जिल्लाका सबै पालिकासँग लागत साझेदारी गर्ने विषयमा पनि सहमति खोजिएको छ। प्रमुख अतिथि बोहराले यसलाई जिल्लाकै साझा सम्पत्ति भन्दै सबै पालिकाको दायित्व रहने बताए। नगर प्रमुख बजालले आगामी बजेटमा आवास गृह र समुदाय कार्यक्रमका लागि बजेट वृद्धि गर्ने प्रतिबद्धता जनाए।


































