
डोटी: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १० सुर्खेती टोलका ३५ वर्षे युवा सरोज थापा डोटीको जोरायल गाउँपालिका १ गैरामा मृत भेटिएका छन् ।

भीमदत्त राजमार्ग अन्तरगत पर्ने गैरा बजारस्थित रेनुका होटलको कोठा नं. २०४ मा शनिबार बिहान ६ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक रण बहादुर चन्दले नजर अनलाइनलाई जानकारी दिए ।
प्रहरी श्रोतका अनुसार दोधारा चाँदनी नगरपालिकामा नगरस्तरीय खेलकुद प्रतियोगिता सकिएपछि पिकनिक तथा घुमघामका लागि सु.प.प्र.०२००१ ख १३२८ नम्बरको हाइसमा चालक सहित १३ जनाको टोली हिजो शुक्रबार कञ्चनपुरबाट डोटी आइपुकेको थियो ।

राती करिब साढे ९ बजे गैरास्थित होटल रेनुकामा पुगेको टोलीमध्ये भीमदत्त नगरपालिका १९ गंगालाल चोक बस्ने हाइस चालक ३९ वर्षीया बसन्त बहादुर सिंह र मृतक थापा एउटै कोठामा सुतेका थिए ।

राती करिब ११ बजेतिर एउटै कोठमा सुतेको र बिहान करिब पौने ६ बजेतिर बेडमै उत्तानो परेको अवस्थामा मृत फेला परेको चालक सिंहले बताए । उनले भने–”सुत्दाखेरी घुर्ने मान्छे किन केहि चाल छैन भनि हेर्दा मृत फेला परेपछि अरु टोलीलाई जानकारी गराएको हुँ ।”
ज्यानले मोटो भएका मृतक थापा मेशिन लगाएर सुत्ने गरेको भन्ने सुन्नमा आएको चालक सिंहले बताए ।
पिकनिकमा आएकाले साथिहरुसँगै बसेर खानपिन सहित रमाइलो गरेको सिंहले बताए ।
राती करिब साढे ९ बजेतिर पुगेको टोलीले खानपिन गरिसकेपछि कोठमा सुतेको र बिहान एकाएक ति युवा मृत भेटिएको उनिहरुकै टिमले आफुलाई जानकारी दिएपछि आफुले थाहा पाएको रेनुका होटलका सञ्चालक गणेश बहादुर क्षेत्रीले बताए ।
घटनाबारे जानकारी पाए लगत्तै घण्टेश्वर प्रहरी चौकी गैराका इञ्चार्ज लक्षी नाथ नेतृत्वको टोली खटाईएको र विस्तृत अध्ययनका लागि इलाका प्रहरी कार्यालय विपिनगरबाट प्रहरी निरिक्षक बिर बहादुर बोहरा नेतृत्वको टोली घटनास्थलर्फ खटाईएको बुझिएको छ ।
त्यसैगरी मृतकका परिवार तथा आफन्त र सम्बन्धीत दोधारा चाँदनी नगरपालिकाबाट जनप्रतिनिधी सहितको टोली पनि घटनास्थलर्फ आइरहेको प्रहरी श्रोतले जनाएको छ ।
































