
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजनाको प्रगति तथा निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन गरिएको छ। ADB टोलीले नगरपालिकाका विभिन्न क्षेत्रमा निर्माण भइरहेका सडक, ढल, नाली तथा फुटपाथसँगै फोहोरमैला व्यवस्थापन केन्द्रको समेत निरीक्षण गरेको हो।



ADB Team Leader नरेश गिरीको नेतृत्वमा आएको टोलीले गोदावरी नगरपालिका क्षेत्रका निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गर्दै निर्माणको अवस्था, गुणस्तर र प्रगतिबारे जानकारी लिएको थियो। अनुगमनका क्रममा निर्माण कम्पनी, शहरी विकास तथा भवन निर्माण विभाग, ADB तथा गोदावरी नगरपालिकाका प्रतिनिधि र प्राविधिक टोलीको सहभागिता रहेको थियो।

परियोजनाअन्तर्गत गोदावरी नगरपालिकाका विभिन्न वडामा सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने उद्देश्यले निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको छ। अत्तरिया रिङरोडसहितका सडक, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल–तेघरी सडकखण्ड, ग्वासी–खमौरा सडक, मालाखेती नहरदेखि पश्चिम ओलानी जाने सडक तथा लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड परियोजनाका प्रमुख पूर्वाधारमा पर्छन्।


अनुगमन टोलीले गोदावरी नगरपालिका–३ चौकीडाँडामा सञ्चालित एकीकृत फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्रको समेत निरीक्षण गरेको छ। टोलीले केन्द्रको सञ्चालन अवस्था, फोहोर व्यवस्थापनको प्रभावकारिता तथा परियोजनाले वातावरणीय स्वच्छता र शहरी सेवामा पुर्याएको योगदानबारे जानकारी लिएको थियो।

अनुगमनका क्रममा नगर प्रमुख वीरेन्द्र भट्टले ADB फेज–२ अन्तर्गतका निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। उनले परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुर्याएको भन्दै ADB टोली तथा सम्बन्धित निकायलाई धन्यवादसमेत व्यक्त गरे।
नगरपालिकाका अनुसार परियोजनाले सडक तथा ढल पूर्वाधार सुधारसँगै व्यवस्थित फोहोर व्यवस्थापन र वातावरणीय स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। निर्माण कार्यको गुणस्तर कायम गर्दै निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।

अनुगमनलाई परियोजनाको प्रगति मूल्यांकनसँगै आगामी निर्माण कार्यलाई थप प्रभावकारी बनाउने मार्गनिर्देशनका रूपमा समेत लिइएको छ। गोदावरीमा शहरी पूर्वाधार र सेवा विस्तारका लागि सञ्चालन भइरहेको परियोजनाले स्थानीय बासिन्दाको दैनिक आवागमन, सरसफाइ र शहरी व्यवस्थापनमा प्रत्यक्ष सुधार ल्याउने अपेक्षा गरिएको छ।































