
धनगढी ः संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय शय्याको अस्पताल चल्नुपर्ने बताएका छन्।
धनगढीमा नेपाल प्रेस युनियन कैलालीले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय जे बनाउन पनि कम्तीमा तीन सय शय्याको अस्पताल चलेको हुनुपर्ने बताए।

विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै मन्त्री बस्नेतले एक सय शय्याको अस्पताल सञ्चालनका लागि दरवन्दी स्वीकृत गरी काम अघि बढेको र यसलाई राम्रोसँग चलाएर तीन सय शय्याको अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरे।
तीन सय शय्याको अस्पताल पूर्णरुपमा सञ्चालनपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ। मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि विरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ।


‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय सैयाको अस्पताल राम्रोसँग चल्नुपर्छ,’ उनले भने,‘त्यसपछि तीन सय शय्याको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ।’
उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापन गरी उपचार सेवा सुरु गरेको बताए। गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय शय्याको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ। यसैगरी मन्त्री बस्नेतले रहर गर्दैमा एकैचोटी स्वास्थ्य विश्वविद्यालय नबन्ने बताए। उनले आफू स्वास्थ्यमन्त्री भएदेखि स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको दाबी गरे।
































