
डोटी: डोटीको जोरायलमा हिजो आइतबार ट्याक्टर दुर्घटनामा परि शक्त घाइते भएका जोरायल-३, अवस्थी गाउँका २८ वर्षिया चालक विष्णु राज अवस्थीको आर्थिक अभावले उपचारमा समस्या भएको छ ।

घटना लगत्तै उपचारका लागि धनगढी लगिएको र अहिले उनको नवजिवन अस्पताल कैलालीमा उपचार भैरहेको छ ।
दुर्घटनामा परी चालक अवस्थीको दायाँ खुट्टा घुँडादेखि तलको भाग घटनास्थलमै टुक्रिएर खसेको पाईएको उनका आफन्त सन्तोष अवस्थीले नजर अनलाइनलाई जानकारी दिए । उनले भने–‘उहाँको दायाँ खुट्टा घुँडादेखि तलको भाग घटनास्थलमै टुक्रिएको रहेछ, अप्रेशन गरेर जोड्न सकिन्छ कि भनेर (झिल्ली) पोलिथिनमा हालेर अस्पताल पुर्याइयो, धनगढीमा उपचार सम्भव भएन, भारतको हल्द्वानी पुर्याउन समय बढी लाग्ने भएपछि र टुक्रिएको खुट्टाको मांसपेशी जीवित नरहने भएपछि खुट्टा जोडिने सम्भवै देखिएन ।’
उनका अनुसार घाइतेको खुट्टाको उपचार गर्न १० लाखभन्दा बढी खर्च हुने देखिएको र आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा कठिनाई देखिएको हो ।
कमाइ गर्ने छोराको कलिलो उमेरमै खुट्टा गुमाउनु पर्दा घरपरिवारलाई अब निकै समस्या हुने पारिवारिक श्रोतले दुःखेसो गरेका छन् ।

हिजो आइतबार बेलुकी करिब साढे ४ बजेतिर से २ त ३६८० नम्बरको आफ्नै ट्याक्टर चलाएर जोरायल गाउँपालिका ३ को चन्कट्टेदेखि सेलातर्फ जाने क्रममा सौनेनी खोला भन्ने स्थानमा दुर्घटनामा परेका थिए ।
ट्याक्टरमा सवार स्थानीय विक्रम भट्ट र इन्द्र मडैको अवस्था भने सामान्य रहेको छ ।

आर्थिक अभियानमा झण्डै ८० हजार रकम संकलन
यसैबिच घाइते चालक अवस्थीको उपचार सहयोगका लागि जोरायल-३ बरम निवासी समाजेसेवी केशवनारायण जोशीले आफ्नो नामको बैंक खातामार्फत सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट ८० हजार जति रकम संकलन भएको छ ।
विभिन्न व्यक्तिले जोशीको कृषि विकास बैंकमा रहेको खाता नं. ०८२७१०१५८२०५९०१३ मा रकम जम्मा गर्ने क्रम जारी रहेको उनले बताए । भोलि मंगलबारसम्म आफ्नो खातामा जम्मा भएको सबै स्पष्ट विवरण सार्वजनिक गरीने र त्यसपछि घाइतेकै नामको बैंक खातामार्फत आर्थिक सहयोगका लागि याचना गरिने जोशीले बताए ।
सहयोग गर्न चाहने मनकारीहरुलाई घाइते विष्णुराज अवस्थीकै नाममा कृषि विकास बैंकमा रहेको खाता नं. ०८२७१०१३९९२८२०१३ मा जम्मा गरिदिन परिवार श्रोतले अपिल गरेका छन् । बैंकमा खाताको क्युआर तल रहेको छ –






























