
बझाङ: बझाङमा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि २ जना छनौट भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदक मध्ये बझाङका २ जना छनौट भएका हुन् ।

छनौट हुनेमा बझाङको जयपृथ्वी–३ का अविशेक जोशी र सुुर्मा गाउँपालिका–२ कि नविना बोहरा रहेका छन् । सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखाका शाखा अधिकृत गोपालदत्त जोशीले मन्त्रालयको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका ०७४, चौथो संशोधनले तत्काल रकम दिने व्यवस्था नगरेको बताए।

यसपाली नाम निस्केर पढाइ सुरु गरेकालाई आगामी वर्षदेखि रकम उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए। गत वर्षसम्म मन्त्रालयले सम्बन्धित कलेजसँग सम्झौता गरेर रकम उपलब्ध गराउने गरेको थियो। यस वर्षदेखि सम्बन्धित विद्यार्थीलाई नै रकम उपलब्ध गराउने विषयमा छलफल चलेको बुझिएको छ। प्रदेश सरकारले हरेक वर्ष नौ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ।
































