
गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले वन अतिक्रमण गराउनका लागि वन कार्यालय नै अगाडि रहेको दावी गरेका छन ।

आइतबार गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको साधारण सभामा यस्तो दावी गरेका हुन ।


‘अहिले वनमा व्यक्ति विशेषका घर बनेका छन । तर, सार्वजनिक संघ संस्था बन्नबाट रोकिएको छ । वडा नम्बर ४ को भवन निर्माण गर्न खोज्दा अवरोध भयो ।’ उनले भने ‘वन अतिक्रमण गरेर, वन नास गरेर, रूख काटेर बनाएको हो भने एक कुरा हो । त्यो वडा कार्यालय तपाई हामी सबैको होइन् ? जनताको होइन ? कसैको घर बन्या हो र ? यो राधाकृष्ण मन्दिर तपाइ हामी सबैको होइन ? हामीले त्यसमा बजेट राखेका थियौ । त्यो वनले किन रोकेको छ ।’
उनले वन कार्यालयले वनमा व्यक्तिका घर बनाउन दिएर पैसा खाने गरेको आरोप लगाए । ‘व्यक्ति विशेषका घर बन्न दिने । त्यहाँबाट पैसा पनि खाने होला । म खोलेर भन्न चाहन्छु । मैले यो कुरा डिएफओलाई पनि भनेको छु । आज यो सबैलाई चाहिने धार्मिक स्थल किन रोकेका हुन । व्यक्ति विशेषका घर बन्न दिने । यस्तो पनि कानुन हुन्छ’ उनले भने ‘अतिक्रमण गराउनमा कोही अग्रसर छ भने त्यो वन कार्यालय हो । म ठोकेर भन्छु ।’
उनले दुर्गालक्ष्मी सामुदायिक वन भन्ने वित्तिकै नेपाली सेना र सशस्त्र प्रहरी बलको चपेटामा परेको वन भएको बताए । अत्तरियामा व्यवस्थित बसपार्कको आवश्यकता रहेको भएपनि सेनाकै कारण बनाउन नपाइएको उनको दावी छ । गोदावरीको समग्र विकासमा नेपाली सेनाको कारण अवरोध भएको उनको भनाइ छ । उनले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस जाने बाटो पनि सशस्त्र प्रहरीले बन्द गर्न खोजेको बताए ।































