
धनगढी ः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा -प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० देखि २४ सम्म धनगढीमा हुन लागेको प्रादेशिक ललितकला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको कार्यालय हसनपुर धनगढीमा आयोजना हुने पाँच दिने प्रदर्शनीको फागुन २० गते आइतबार मुख्यमन्त्री कमल शाहले उदघाटन गर्ने कार्यक्रम छ।

प्रदर्शनीमा २ सय जति कलाकारका कला कृति प्रदर्शनीमा राखिने सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए। सुदूरपश्चिममा पहिलो पटक हुन लागेको ललितकला प्रदर्शनीमा विशेष गरी हस्तकला, मूर्तीकला, लोककला र चित्रकला प्रदर्शनी हुनेछ। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा -प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको उपस्थिति रहने बताइएको छ। पाँच दिनसम्म चल्ने प्रदर्शनी अवलोकनका लागि सुदूरपश्चिम प्रज्ञा – प्रतिष्ठानले सबैलाई अपील गरेको छ। प्रदर्शनी फागुन २४ सम्म बिहान १० बजेदेखि ५ बजेसम्म हुने बताए ।

































