
बझाङः दलित जनप्रतिनिधीलाइ कानुनी तथा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम बझाङ्गमा सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कैलालीको आयोजना दलित विकास समिति जयपृथ्बी नगरपालिकाको सहकार्यमा सदरमुकाममा सचेतनामूलक कार्यक्रम गरिएको हो ।


पछिल्लो समय स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिहरूले मानव अधिकार र कानुनी कुराको बारेमा गहिरो ज्ञान प्राप्त गर्न नसक्दा दलित समुदायको प्रतिनिधित्व गर्न पठाएका दलित महिला सदस्य र कार्यपालिका सदस्यहरूले दलितका सवालको उठान गर्न नसकिरहेकाले जनप्रतिनिधिलाई नै सचेतना दिनु पर्ने देखे पछि दलित विकास समिति जयपृथ्वी नगरपालिकाको सहकार्यमा प्रदेश सभा निर्वाचन क का सबै स्थानीय तहका दलित जनप्रतिनिधिहरूलाई सहभागी गराई यो कार्यक्रमको आयोजना गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कैलालीले दलित जनप्रतिनिधीलाइ कानुनी तथा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत ५ लाख बजेट छुट्याएको थियो ।
कार्यक्रममा बोल्दै जयपृथबी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन बहादुर थापाले दलित विकास समितिले दलित समुदायका सबैलाइ समेटेर हक अधिकारको बारेमा बोल्दै आएको र आउने दिनमा समेत अझै प्रभावकारी कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । अझै राजनिती होस या समाजमा दलित भएकै कारण पछाडि पर्नुपर्ने अवस्था रहेकाले कानुन र मानव अधिकारको बारेमा जानकार हुनु पर्ने भएकाले यो कार्यक्रमले केही हद सम्म फाइदा गर्ने बताउनुभयो । साथै आफ्नो वडा भित्रका ,दलित, एकल, टुहुरा बालबालिकालाइ स्वास्थ्य सँग समन्वय गरेर निःशुल्क उपचार गर्ने खाका तयार पारीरहेको उहाँको भनाइ छ ।
दलित समुदायको हकहित निमित्त कुनै थिचोमिचो नहोस भन्नको लागी नगरपालिकाले नीतिगत रूपमै दलित विकास समिति गठन गरि कार्य सञ्चालन गरेको बताउदै यसमा सबै भन्दा पहिले मानिसमा चेतना हुन पनि जरुरी रहेको उपप्रमुख रतन बहादुर सिंहको भनाइ छ ।
जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजालले पहिलेको तुलनामा छुवाछुत केहि कम भएको भएपनि जादुको छडि घुमाए जस्तो परिवर्तन गर्न सम्भव नभए पनि लामो समय देखि जरा गाडेर बसेको जातीय विभेद अन्त्य हुन नसक्ने भन्दै विभेद अन्त्य गर्न सबै सरोकारवालाहरुको निरन्तरता आवश्यक हुने बताउनुभयो । आफू नगर प्रमुख भैसके पछि दलितको हक अधिकारको लागी दलित विकास समिति गठन गरेको र थोरै बजेटमा पनि समितिले प्रभावकारी काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रम समापन गदै दलित विकास समितिका अध्यक्ष गोविन्द नेपालीले देशमा निती राम्रो भएको भएपनि नियत खराब हुदा सबै कुरा बिग्रीएको बताउनुभयो । २०७९ साल पुषमा दलित बिकास समितीको अध्यक्ष भैसकेपछि दलितहरुको क्षेत्रमा धेरै काम गरेको र अझै बजेट कम हुदा धेरै काम गर्न नसकेको बताउनुभयो । साथै दलित समुदायका कुनै पनि व्यक्तिलाइ अन्याय परेको भए नगरपालिकामा रहेको दलित विकास समितिमा जानकारी गराउन समेत अनुरोध गर्नुभयो ।
दलित विकास समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख चेतराज बजाज रहनुभएको थियो भने विशिष्ट अतिथि नगर उपप्रमुख रतन ब सिंह रहनुभएको थियो । कार्यक्रममा जयपृथ्बी नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरू,जयपृथ्बी नगरपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिकाका ,दलित कार्यपालिका सदस्य, दलित महिला सदस्य गरी ५५ जनाको सहभागीता रहेको छ । यस्तै ,थलारा गाउँपालिका, सुर्मा, खप्तडछान्ना ,छबिस,साइपालका दलित समुदायका जनप्रतिनिधिहरूको लागी चैत्र २२ गते कार्यक्रम गरीने जनाइएको छ ।
कार्यक्रममा दुई वटा कार्यपत्रको प्रस्तुतिकरण गरिएको थियो जसमा कानुन सम्बन्धी कार्यपत्र जयपृथ्वी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनराज उपाध्यायले प्रस्तुत गर्नुभएको थियो भने नीति बजेट सहितको समसामयिक कार्यपत्र पत्रकार प्रदीप मलासीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका कर्मचारी गोविन्द सार्कीले गर्नु भएको थियो ।



































