
बझाङमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक विक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सूचना अधिकारी वसन्त बहादुर सिंहले जानकारी दिनुभयो ।

पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको सदरमुकाम चैनपुर स्थित एक पुस्तक भण्डारका सञ्चालकले बताउनुभयो । जिल्लामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो ।
बझाङमा कक्षा १ देखि १० सम्म ७४ हजार ७६९ जना विद्यार्थी रहेका छन् जसमा ३६ हजार ३ सय २१ छात्र र ३८ हजार ४ सय ४८ छात्रा रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने सूचना अधिकारी सिङले जानकारी दिनुभयो । जिल्लामा ४ सय ७४ ओटा सामुदायिक विद्यालय रहेका छन् ।


कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा पुगीसकेकाले विक्रेताहरूबाट विद्यालयले पाठ्यपुस्तक खरीद गरेर लैजाने गरेका छन् । सम्बन्धित स्थानीय तहहरूले विद्यालयहरूको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकासा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ ।
शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने सत्यवादी माध्यमिक विद्यालयका प्रअ खगेन्द्र प्रसाद जोशीले बताउनुभयो । पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उहाँको भनाइ छ ।
वैशाख १ गतेदेखि शैक्षिक सत्र २०८१ सुरु हुँदैछ । वैशाख पहिलो हप्ता भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी सिङले बताउनुभयो । वैशाख दोस्रो हप्ता बाट नियमित पठनपाठन गरीनुका साथै छुटेका विद्यार्थीहरूलाई विद्यालयमा पहुँच पुर्याउन घरदैलो अभियान सञ्चालन हुने सिङले जानकारी दिनुभयो ।































