
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, नेकपा एकीकृत समाजवादी बाट दिल बहादुर सिंह र जसपा नेपाल बाट राम बहादुर जाग्रीको उम्मेदवारी दर्ता भएको छ । यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

यस्तै जनमत पार्टीबाट सुशीला विष्टले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो । बझाङमा सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार २५ चैत्रमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते उजुरीर जाँचबुझ गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २७ चैतमै उम्मेदवारहरूले चुनाव चिह्न पाउनेछन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दल र उम्मेदवारले चुनावी अभियान थालि सकेका छन् ।

बझाङ १ को प्रदेश सभा उपनिर्वाचनका लागि मतदानस्थल पनि तोकेको छ । आयोगले बझाङमा प्रदेश सभा निर्वाचनका लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ । बझाङमा ६१ हजार ७ सय ४८ मतदाता रहेको पनि आयोगले जनाएको छ ।































