
डोटी: डोटीको जोरायल गाउँपालिका ३ सेला गाउँ निवासी बिस्नादेवी अवस्थी एक सफल तरकारी व्यवसायीको पर्यायवाची नामका रूपमा परिचीत छन् ।

पछिल्लो ७/८ वर्ष देखि करिब तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी बिस्नाले विभिन्न उत्कृष्ट कृषक पुरस्कार पनि प्राप्त गरिसकेकी छन् ।
उनले एल.के.कृषि तथा पशुपंक्षी फर्म दर्ता गरि संचालन गर्दै आएकी छन् ।
मंगलबार मात्रै उनको कृषि फर्ममा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, वडा नम्बर १ का वडा अध्यक्ष जगत बहादुर मल्ल, वडा नम्बर ६ का वडा सदस्य यज्ञ बहादुर साउद, कृषि प्राविधिक सन्तोष अवस्थी लगाएतको टोलीले स्थलगत अवलोकन गरेको छ ।


व्यवसायिक तवरले अगाडि बढेका किसानलाई अगाडि बढाउन जोरायल गाउँपालिका प्रतिवद्ध भएर लागिरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
उनले भने-“बिस्ना अवस्थी जोरायलको उदाहरणीय किसान हो, हामीले राम्रो गर्ने किसानको लागि प्रोत्साहनका कार्यक्रम दिएका छौं । अनुदान सहयोग, अध्यक्ष कृषि विशेष कार्यक्रम, एक गाउँ उत्पादनको नीति तथा कार्यक्रम संचालन गरिरहेका छौं ।”
यसका साथै बजारको समस्या रहेकोले कृषि उपजको सहज बजारीकरणको लागि संघ, प्रदेश सरकारका साथै निजी क्षेत्र, व्यापार व्यवसायी सङ्ग पनि समन्वय सहकार्य भैरहेको अध्यक्ष ओझाले बताए ।
बिस्ना अवस्थीकै जसरी अन्य किसानले पनि व्यवसायिक खेती गरेमा आत्मनिर्भर बन्नुका साथै बजारीकरण गर्न पनि सहज हुने जोरायल गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक जमुना बोहराले बताइन् ।
घर परिवारको खर्च, छोराछोरीको पढाई लगाएत सबै खर्च तरकारी खेती बाटै चलाइरहेकोे कृषक बिस्ना अवस्थीले बताइन् ।
उनलेे अहिले बारीमा मुला खेती सङ्गै लसुन, प्याज लगाएतका बाली लगाइएकी छन् भने लगत्तै ३ वटा टनेलभित्र टमाटर खेती र खुल्ला जमिनमा काउली रोप्ने तयारी रहेको बताइन् ।
अरु किसानले पनि व्यवसायिक खेती गरेमा उत्पादन धेरै हुने र बजारीकरणको पनि सहजता हुनेमा उनको जोड छ ।






























