
बैतडी:सुदूरपश्चिमको बैतडी जिल्ला स्थित सिगास गाउँपालिकामा रहेको एक प्रसिद्ध ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय स्थल महाशक्ति पिट सिगास धाम प्रचारप्रसारको ओझेलमा रहेको छ।गाउँपालिकाको नामांकरण समेत सिगास मन्दिरको नाम बाट गरिएता पनि यो तीर्थस्थल अहिले ओझेलमै रहेको छ।

ऐतिहासिक सिगास धाम:
समुन्द्री सतहबाट २ हजार २ सय ४९ मिटरको उचाइमा रहेको ऐतिहासिक धार्मिक स्थल शिगास मन्दिर बैतडी जिल्लाको सिगास गाउँपालिका स्थित वडा नं. २,४ र ०८ को संगम स्थलमा अवस्थित छ।“कुम्भको केदार ठूलो शिरको शिगास ठूलो” भन्ने मान्यता बोकेको सिगासको छुट्टै पृष्ठभूमि रहेको छ।
परापूर्व कालमा जुन बेला शिगास धुरा (शिगास मन्दिर रहेको ठाउँ) मा भगवान शिवजीको वास भयो त्यसैबेला देखि शिरको शिगास मन्दिर भएको किम्बदन्ती रहेको छ।

सुन्दर हरियाली प्रकृतिको काखैमा अवस्थित सिगास मन्दिर धार्मिक एवं पर्यटकीय रुपमा पनि एकदमै प्रसिद्ध छ।जहाँ बाट हिमालका उच्च हिम श्रृंखलाहरु, पहाडका उच्च डाँडाकाँडा भिरपाखा हरु, तराइका सम्म भु-भाग हरु र भारतको उत्तराखण्ड, कुमाउ, नैनिताल समको अवलोकन गर्न सकिन्छ।साथै उक्त मन्दिरबाट डडेलधुरा,बझाङ र डोटीको समेत एकसाथ अवलोकन गर्न सकिन्छ।
सिगास गाउँपालिका बासी लगायत समस्त सुदूरपश्चिमका हिन्दू धर्मावलम्बीहरूको आस्था बोकेको धरोहर शिगास मन्दिरमा विशेषगरी असोज/कार्तिक शुक्ल अष्टमीको दिन ठूलो मेला लाग्ने गर्दछ। यस्का साथै श्रावण महिना र चैत्र महिनामा भगवान शिवको विशेष पूजाआजा गर्न विशेष गरी सिगास गाउँपालिका अन्तर्गतका सबै वडाका भक्तजन, बसाई सराई गरी तराइका जिल्लामा गएका सिगास बासी श्रदालु भक्तजन सहित डोटी, डडेलधुरा, बझाङ जिल्लाका बिभिन्न ठाउँ सहित भारतको उत्तराखण्ड राज्य अन्तर्गत झुलाघाटका श्रदालु भक्तजन पनि जात्रा र पूजाआजाको समयमा विशेष गरी आउने गर्दछन्।


देवी-देवतामा आस्था राख्ने धर्म संस्कृति प्रति विश्वास गर्ने श्रदालु भक्तजनहरु विशेष गरी निसन्तान, बाझोपन, चर्मरोग लगायतका अन्य रोगहरूको नाश गर्ने सामर्थ्य शिव भगवानमा भएको हुँदा उक्त समस्या भएका श्रदालु भक्तजनहरूको विशेष भिड लाग्ने गर्दछ।परापूर्व कालदेखि नै शिरको शिगास नामले प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको आस्थाको केन्द्र शिगास मन्दिर (शिव धामको) प्रचारप्रसार गर्न सकियो भने निकट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक नआउने भन्नेमा दुई मत छैन।

सिगास गाउँपालिकामा सिगास, कैलपाल, निलपाल, लाटो, खुदाई, भुमिराज, दोगाडे लगायतका दर्जन बढी देवी देवताका मन्दिरहरु रहेका छन।
स्थानीय सरकारले पनि मन्दिरको बिषयमा स्पष्ट निति तथा कार्यक्रम बनाएर काम गरेको देखिदैन साथै प्रदेश सरकार र संघ सरकारको नजरमा अझै सिगास धाम पर्न सकेको छैन।जस्ले गर्दा अझै पनि सिगास धाम ओझेलमै परेको छ।त्यसैले समग्रमा शिगास मन्दिर(धाम)लाई विश्वव्यापी रुपमा चिनाउन र संरक्षण एवं सम्बर्द्धन गर्नका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष पहल गर्नु पर्ने जरुरी देखिन्छ।





























